Developed By Kuldeep Sharma

भदौ ११, २०७९

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले गरे उद्घाटन

काठमाडौं। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन्।

सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए।

बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो।
नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन्।सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन्। आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ।

२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो। कोरोना महामारी र रुख कटानमा ढिलाईका कारण प्रभावित आयोजनाको दोस्रो चरणका काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो।

तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन्। यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन्। सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधि नबन्दा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योलता छ। कार्यविधि नबन्दासम्म सम्मेलन केन्द्र हस्तान्तरण गर्न समेत नमिल्ने भएकाले सञ्चालन हुन समय लाग्ने देखिन्छ। सम्मेलन केन्द्र सञ्चालनमा वार्षिक ३ करोडभन्दा बढी खर्च आउने आयोजना प्रमुख पन्थीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma