Developed By Kuldeep Sharma

September 5, 2022

अख्तियाद्वारा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा छापा, कागजात नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ।

अख्तियारले उक्त कार्यालयबाट भएको निर्माणको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरी सम्बन्धी कागजात लिएरको हो। यस भन्दा पूर्व वृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर सो सम्बन्धी कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए। त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ। मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको उक्त कार्यालयविरुद्ध विभिन्न पालिकाबाट वृहत्तरकोविरुद्धमा दर्जनौ उजुरीहरु अख्तियारमा छन्। वृहत्तरले कामनै नगरि मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारहरुलाई भुक्तानी दिएको, प्राविधिकले मूल्यांकन भन्दा बढी रकम निकासा गरेको लगायत गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेका छन्।

वृहत्तरका कार्यकारी अधिकृत वलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराइ बेचेको कागजात पनि अख्तियारले लिएर गएको छ। दैलेखको विगु गाउँपालिका ७ बस्ने ३५ वर्षीय जेन्डिल शेर्पाले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई बा १३ च २०३७ नम्वरको स्कारपियो एस फोर फिप्टीन गाडी धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको निमित मात्र प्रयोग गर्न पाउने गरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई दान दिएका थिए। दुबै पक्षले २०७६ कार्तिक १४ गते दानपत्र बनाएको देखिन्छ तर, ठाकुरले सो गाडी २०७७ साउन २१ गते आफ्नो श्रीमतीको नाममा नामसारी गरेका छन्। त्यस्तै वृहत्तरका लेखापाल सावित्री गिरीको घर अगाडि भएको पिसीसी ढलानमा समेत व्यापक अनियमितता भएको छ। उनको घर अगाडि बनेको सडक स्टिमेट भन्दा बढीको बजेटिङ्ग गरिएको र स्टिमेटमा प्राविधिकले १३ हजार रुपैयाँ कम भुक्तानीको कागजात पेश गरे पनि लेखापाल गिरीले भने पूरा रकम भुक्तानी दिएको उजुरी समेत अख्तियारमा परेको छ।

कार्यालयद्वारा निर्माण गरिएको शौचालयमा समेत अनियमितताको उजुरी छ। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट हुने अनियमितताविरुद्ध आम जनताले अख्तियारमा उजुरी हाले पनि त्यसको सुनुवाई छिटो नहुने भएका कारण भ्रष्टाचार नियन्त्रणमा ढिलाई भएको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma