काठमाडौं। कर्मचारी सञ्चय कोषले सीटीसी मल लिलामीका लागि सूचना जारी गरेको छ। सिभिल गु्रपका अध्यक्ष रहेका व्यवसायी इच्छाराज तामाङले कोषको ठूलो रकम नतिरेपछि लिलामीका लागि सूचना निकालिएको हो। कोषले ३५ दिने सूचना निकालेर मल लिलामको प्रक्रिया सुरु गरेको हो।
मलको १३२ वटा सटरहरु लिलाम गरिने छ। सुन्धारा स्थिति कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा मल फैलिएको छ। तामाङको सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले यसअघि सूचना जारी गर्दै ३५ दिन भित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्नको लागि आग्रह गरेको थियो।
कोषले कोषको कार्यालय पुल्चोकबाट बोलपत्र फारम लिन सकिने जनाएको छ। मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन्। मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन्।
ठगी अभियोगमा अहिले जेलमा रहेका तामाङको सीटीसी मलमा ५० प्रतिशत स्वामित्व रहेको छ।
प्रतिक्रिया