Developed By Kuldeep Sharma

साउन १५, २०७९

हारेकालाई दोहोर्‍याउन खोज्दा मुलुकले हार्न सक्छ

माधव खनाल, काठमाडौं। राजनीति चेतनाको परिस्कृत आयाम हो। तर, यो अहिले जनस्तरबाट तिरस्कृत हुँदै गइरहेको छ । युवा पुस्तालाई त राजनीतिमा मनै छैन। भोट हाल्नसम्म उदासीन यो पुस्ता अहिले विदेशमा भविष्य देखिरहेको छ।

अहिले गाउँघरतिर हेर्न गयौँ भने रुन मन लाग्ने, उदेकलाग्दो दृश्य आँखामा आउँछ। खेत—बारी बाँझै छन् । हिजोका खोरिया आज जंगल भइसके। पुस्ताले खनखोस्री खाएको थलोले अहिले भलो गर्न छाडेपछि युवा विदेशिएका छन्। तरुण, तन्नेरी गाउँ नभएपछि बुढाबुढी, वयोवृद्धहरुको भागमा परेको छ गाउँवस्ती। मतदानका बेला मतदाता होइन, मलामीसमेत नपाउनेगरी गाउँ रित्तिनुको पछाडिको कारण के हो? आजको नेतृत्वले यसको खोजी गर्नसम्म जरुरी ठानेको छैन।
बरु तिनै नौजवान युवाले पठाएको विप्रेषणबाट मुलुक धानिएको छ भनेर मख्ख परिरहेको छ। यस्ता गन्थन कुनै नवीन कुरा होइन। सडकमा भएका र चुनावमा उठ्ने मन बनाएका सबैले यसलाई भाषणको विषय बनाएका छन्। तर, यसको समाधान के हो ? आजको चासो र चिन्ताको विषयचाहिँ यो हो। आजको युग वस्तु व्यापारको युग हो । श्रम निर्यात गरेर कुनै पनि मुलुक समृद्ध भएको छैन। हामी अपवाद हुने पनि छैनौँ।

आज जुनसुकै ठाउँमा जनशक्ति अभाव छ। सडक टालटुल गर्न त मानिस नै पाइँदैन भनेर गुनासो गरिरहेको सुनिन्छ । अनौपचारिक क्षेत्रमा नेपाली कामदार छँदै छैनन्। त्यसो हुँदा भारतीय कामदारले यहाँ राम्रो काम पाएका छन्।
एकातिर हामीले स्वदेशमा श्रमप्रति सम्मान बढाउन सकेनौँ। अर्को श्रम संस्कृतिलाई पनि कमजोर बनाउँदै लग्यौँ। घरमा असरल्ल काम छाडेर चिया पसलमा गफ गरेर बस्नेहरु भेटिनुको पछाडि कारण यही हो। यहाँ श्रम गर्न लाज हुने र विदेशै जान मरिहत्ते गर्ने पंक्ति तयार भएपछि यहाँको श्रम आपूर्तिको दशा के होला ? हामी अनुमानै गर्न सक्दैनौँ।

अहिले हामी चुनावको सङ्घारमा छौँ । एक साताभित्र मन्त्रिपरिषद्को बैठकले चुनावको मिति पनि तोक्ला । आवधिक निर्वाचनको महासङ्ग्राममा दलहरू लाग्लान् पनि। चुनावपछि आउने परिणाम के हो ? कस्ता उम्मेदवार निर्वाचित भएर आउँछन्? तिनले कस्ता योजना जनताबाट अनुमोदित गरे? यिनै बहसहरुबाट हामीले आगामी पाँच वर्षको मुलुकको बाटो तय गर्ने हो। अहिलेको समीकरणमा कुनै फेरबदल आएन भने कांग्रेस नै मुलुकको पहिलो पार्टी बन्ने छ। सरकारको नेतृत्व उसैले गर्ने छ। अहिलेकै सत्ता सहयात्री, साझेदारहरूले उसलाई सघाउने छन्। कांग्रेसको नेतृत्व कस्तो छ, त्यो परीक्षा हुन बाँकी रहेको विषय होइन। उसले अघि सार्ने विषय पनि नूतन रहेन। तर, विचारणीय कुरा के हो भने अब हामी बामेसराइको गतिले कहीँ पुग्दैनौँ। जनस्तरमा बढेको आक्रोशले उपचार पाएन भने विद्रोहको रुप लिन्छ भन्ने कुराको साक्षी हामी विगतमा नै भइसकेका छौँ। चाहे कांग्रेस होस या कम्युनिस्ट उनीहरू कसैले पनि जनतालाई खुसी बनाउन सकेका छैनन् । महँगीको मारमा निमुखा परिरहेकै छन्। जति महँगो मूल्य तिर्न पनि तयार भएर तिनले नेतृत्वलाई सघाएकै छन्। सरकारको ढुकुटी रित्तेला र मुलुक श्रृलङका बन्ला भनेर उनीहरूलाई नै चिन्ता छ।

इन्धनको भाउ जति बढे पनि तिनले गुनासो गरेका छैनन्। यस्ता गौप्राणी नागरिकमाथि एक—दुईपटक धोका दिन सकिन्छ। भ्रममा राख्न सकिन्छ तर, सधैँ यसको खेती गरेर नेतृत्व कहाँ पुग्न खोजेका हुन् अब हामीले समीक्षा गर्नै पर्छ।
हरेक समस्याको गर्भमा समाधान निहीत हुन्छ। राजनीतिभित्र देखा परेका तमाम समस्याको समाधान पनि राजनीति नै हो। अन्तबाट उपचार खोजेर सम्भव छैन। नेतृत्वमा देखा परेका विचलन, विकृत चिन्तनको उपचार पनि नेतृत्वलाई सुधारेर नै गर्न सकिन्छ।

चुनाव आवधिक निर्वाचन मात्र होइन। चुनावलाई नेतृत्व नवीकरणको माध्यममात्रै बुझ्यौँ भने पनि समाधान खोज्न सकिैँदन। अतः चुनाव नेतृत्वको शुद्धीकरणको मौका पनि हो। योग्लाई मौका दिने र अयोग्यहरुलाई बिदाइ गर्ने बेला पनि यही हो । आवधिक निर्वाचनलाई लोकतन्त्रको गहना त भनिन्छ तर मतमार्फत् सुयोग्य नेतृत्व छान्न सकिएन भने त्यो विडम्बना नै हुने छ। यत्रो समय पछुताएर बित्यो तर सधैँ पछुताउन हामीसँग समय छैन।

७० वर्षको यो लोकतन्त्रको यात्रामा आहा चुनाव भयो, चुनाव आयो पो त, भयो पो त भनेर मात्रै हुँदैन। चुनावलाई विकासको कोशेढुङ्गा बनाउन सक्दा मात्रै लोकतन्त्रले न्याय पाउँछ। अर्को राजनीतिक दलले जस्तालाई पनि उम्मेदवार बनाउने चलन बढेको छ। यो लोकतन्त्रका लागि खतरा हो। अर्को म निर्वाचन प्रणालीतर्फ पनि कमजोरी देख्छु। यो निर्वाचन प्रणालीले पैसा हुनेलाई टिकट दिने र उसैलाई जिताउने चिन्तनको प्रबद्र्धन गर्छ। पार्टीहरुले टिकट दिँदा पैसा भएकालाई प्राथमिकतामा राख्न थाले।

एउटै व्यक्ति जो दुई—तीनपटक चुनाव हारिसक्यो, न जनतासँग उसको कुनै साइनो देखिन्छ। चुनावको बेलामा आउने र विकासको सपना बाँड्ने अनुमोदित हुन नसकेपछि कमजोरी खोज्न त कता हो कता पार्टीका गतिविधिमासम्म नआउने फेरि ५ वर्षपछि टिकट बोकेर उही आउने परिपाटीले हामीलाई सही नेतृत्व दिँदैन।
चुनाव असफलहरुको व्यवस्थापन होइन। असलहरुको चयन हो। यसमा पार्टीले विचार पुर्‍याउनै पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma