काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिदै यस्तो बताएकी हुन्।
‘विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ। स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम अभ्यास भएको हुनाले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी बनेको छ’, राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्।
उनले शुभकामना सन्देशमार्फत् नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेकी छन् ।
हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको हुँदा नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि भएको बताउँदै उनले कोभिड–१९ को महामारीले गत वर्ष मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतिहरू थपेको पनी प्रष्ट परिन् । अनपेक्षित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूमा नोक्सानी हुन पुगेपनि अब नयाँ वर्षको सुरुवातसंगै हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन्। उनले भनिन् ।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्छ। ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारी र अवसरहरूको सिर्जना गर्ने नीति कार्यान्वयनमा ढिलाइ गर्न नहुने उनको भनाइ छ । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म संघीय‚ प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान समेत गरेकी छन्।
प्रतिक्रिया