Developed By Kuldeep Sharma

April 20, 2022

हामी आयौँ

काठमाडौं। सयौँ अनलाइन सञ्चारमाध्यमहरुको भीडमा हामी पनि मुलुकप्रेस डटकम नाम बोकेर आइपुगेका छौँ । भीडमा कतै हराउनु वा पृथक बनेर भिडभित्रै परिचय तयार गर्नु दुवै नियति स्वीकार्न या हासिल गर्न यो कदम उठाएका छौँ । पछिल्लो समय अनलाइन सञ्चारमाध्यम व्यवसाय गर्ने वा विचार राख्ने माध्यमका रुपमा विकसित हुँदै आएका छन् ।

विगतमा जस्तो खबर बोक्ने हुलाकी बन्नुमात्र अहिलेको पत्रकारिता रहेन । आफ्ना विचार राख्नेदेखि विचारको व्यापार गर्नेमाध्यम अनलाइन पोर्टल बन्ने गरेका छन् । तर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको आडमा समावेशी लोकतन्त्र, नागरिकका मौलिक हक मात्र होइन गोपनियताको हकको समेत सुनिश्चितता गर्ने र सन्तुलित समाचार प्रकाशन गर्ने सोचसहित हामी आएका हौँ ।

राज्यको चौथो अंग भनिएको सञ्चार जगत पछिल्लो समय सामाजिक सञ्जालमा सबैभन्दा धेरै प्रहारको निशाना बन्दै आएको छ । राम्रो वा नराम्रो कुनै पनि सामग्रीमा निकै नमिठा टिप्पणीहरुको साक्षी बन्नुपर्छ । कसैप्रति पूर्वाग्रही भए पनि वा नभए पनि सञ्चार क्षेत्र राजनीतिक दल, तीनका भ्रातृ संस्थादेखि कतिपयले निर्माण गरेका साइबर सेनाहरुको निशानाबाट सञ्चारमाध्यमहरुले आफ्नो साख जोगाउने जोखिम छँदैछ ।

यी सबै समस्याहरु सहौँला र सञ्चार क्षेत्रलाई खाली हुलाकी मात्र नभई सन्तुलित र व्यवसायिक बनाएर यसैमा आफूलाई क्रियाशिल बनाउने पत्रकार साथीहरुको रोजगारीको समेत ज्ञारेन्टी गरौँला भन्ने हाम्रो ध्यय हो । पछिल्लो समय राजनीति समेत पेशा भइरहेका बेला पत्रकारिता पेशा मात्र होइन, स्थापित पेशा र रोजगारीको आकर्षणको केन्द्र पनि बन्नुपर्छ भन्ने हाम्रो सोच छ ।

समाज परिवर्तन र लोकतन्त्र रक्षाको ज्ञारेन्टी नै गर्ने जिम्मा नै लिँदैनौँ, तर लोकतन्त्रको पक्षमा लागिरहने र समाजको पक्षमा उभ्याइरहने अठोट चाँहि अवश्य गर्छौँ । ठूलो भीडमा छिरेको एउटा शिशुलाई हुर्काउन र स्थापित गर्न यहाँहरुको सद्भाव, सहयोग र शुभेच्छाको अपेक्षा गरेका छौँ ।

अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma