सबलाल्टर्नको बकपत्र
चैतको उखरमाउलो गर्मी । निर्वाचनको सरगर्मी थपिन बाँकी नै हुँदा गर्मी अचाक्ली बढेको थियो । चुनाबकै छेकेमो एमाले नेता घनश्याम भुसाल भेटिए । नेकपा विभक्त हुनु अगावै सहरमा उनको चार्म बेग्लै थियो । रापताप बेग्लै थियो । नेकपा विघटनपूर्व सडक आगाको फिलिङ्गाजस्तो तातो थियो । तिनै ताता सडकमा आगो ओकलिरहेका हुन्थे, भुसाल ।
तर, चैतको उधुम गर्मीमा पनि भुसालको अनुहारमा कुनै धूप थिएन । न निर्वाचनको चटारो नै । न टिकट छान्न परेको सकस नै प्रतिच्छवित देखिन्थ्यो । एक किसिमले भनौँ, उनको अनुहारको कान्तिमा ठूलै पहिरो गएको थियो ।
दसौँ महाधिवेशनमा धूलाम्य भएर चितवनबाट फर्किए यता उनी पार्टी एकताको पैरवी गरिरहेका छन् । एमाले र एकीकृत पार्टीको मिलनविन्दुको खोजी गरिरहेका छन् । पार्टीको बहसमा कुनै स्थान नपाएर अखबारका पंक्तिमा पोखिने भुसाल त्यहाँ पनि एकताको बेसुरा गीत गाइरहेका छन् ।
विडम्बना, एकताको चिन्तनले जरा हाल्न नपाउँदै निर्वाचन आइदियो । निर्वाचनको तापले एमाले मरिचझैँ चाउरिने मात्रै होइन, कम्युनिस्ट आन्दोलनमा दुर्भिक्ष्यको भयानक आँधी चल्ने भयले उनी थप भयभित देखिन्थे ।
कुरैकुरामा उनले भने, “हामी सत्यनासको सङ्घारमा छौँ ।” “एमालेको ?,” मैले कौतूकता बिसाउन खोजेँ । उनको अनुहारमा नैराश्यताको बादल झनै टम्म थियो । “हैन सिंगै कम्युनिस्ट आन्दोलनको ।”
बादल लागेको अनुहारभित्रैबाट उनी थप प्रष्ट्याउँदै थिए, “हामी यसरी एकले अर्काको नाङ्गेझार पार्दै छौँ कि, भविष्यमा जति लुगा लगाए पनि अहिलेका गाली, बेइज्जतीले हामीलाई दूर इतिहाससम्म कुरीकुरी गरिहने छ ।”
बयलगाढामा चुनावी यात्रा
दुई तिहाइ सन्निकट मतसहित सत्ता यात्रा । आफ्नै जीवन कालमा माओवादीसँगको पार्टी एकता । त्यतिमात्र होइन, इतिहासको कठघरामा उभिएर गालीमात्रै गरेको माओवादी आन्दोलनलाई जनताको बहुदलीय जनवादी जुवामा दाउन सक्नु केपी ओलीको तिलस्मी, जादुयी सफलता थियो ।
बगानमा रोपिएका बोटबाट एकैपटक स्याउ झरेझैँ ओइरो लागेको सफलता थेग्ने ल्याकत ओलीसँग थिएन । परन्तु, त्यही सफलता अहिले ओलीका निम्ति भयानक दुस्वप्न बनेको छ ।
त्यही दुस्वप्नको आँधीका कारण उनी अर्धहोसमा छन् । आफ्नो एजेण्डा बिर्सिएर विषवमनमा व्यस्त छन् ।
सर्वस्व गुमाएर जनताको बहुदलीय जनवादको पेटन्ट जोगाउन सफल भएका ओली यसैलाई भयानक उपलब्धी ठानिरहेका छन् । विषवमनको यात्रामा बेलगाम छन् ।वैशाख ३० को चुनाव सङ्घारमा छ । क्षितिजमा गठबन्धनको झण्डा फरफराइरहेको छ । गठबन्धनमा एकाघरबाट छुट्टिएर गएका आन्दोलनका बफादार कार्यकर्ताहरू छन् । केही आन्दोलनको स्थूल खाका कोर्ने सत्विचारक, सत्चिन्तकहरू छन् ।
तर, बफादार, नवभाइभारदार र वामपन्थीबाट बापन्थीमा रुपान्तरित चाटुकारहरूबाट घेरिएका केपी ओली इतिहासको रछ्यानमा मिल्काइएका राजतन्त्रका कङ्काल खोज्दै हिँडेका छन् । दुर्भाग्य पश्चगामी बन्नसमेत अयोग्य कमल थापाहरू अहिले केपी ओलीको बयलगाढाको यात्रु बन्न आइपुगेका छन् । यो बयलगाढा कहाँ पुगेर दुर्घटित हुने हो ओलीहरूलाई सम्झने फुर्सद पनि छैन ।
बयलगाढाको पछाडि बसेका भुसालको एकताको मूच्र्छना सुनुन् कसरी ?
गठबन्धनको गोलामा होली वाइनको तीर
केपी ओलीको अधपतनको यात्रा यसरी वेगसित ओरालो झरेको छ कि, त्यो शब्दातीत छ । वर्णानातीत छ ।
त्यही ओरालो यात्रामा उनको फेर समात्न आइपुगेको छ, होली वाइन । परिवार दलको आवरणमा प्रकट भएको पश्चगमनको त्यो विम्बको आडमा ओली चुनाव जित्ने सपना बुनिरहेका छन् ।
यहाँनेर पार्टी विवादको उत्कर्षताक माधव नेपाल क्याम्पबाट हठात् डेरा सरेका विष्णु रिजालको भनाइ प्रासंगिक हुन्छ ।
त्यतिबेला रिजालले भनेका थिए । हाम्रो महान् तथा गौरवशाली नेकपाको अबको यात्रा यदुवंशी पथ ।
विम्बमा यदुवंशी पथ आफ्नै आफ्नो खलक सिध्याउने, आफ्नो दुर्भाग्यको सर्जक आफैँ हुने परिघटना हो । मार्क्सवादका असली उत्तराधिकारी मान्ने नेकपा पथिकहरू यदुवंशी बाटोको डर किन पालिरहेका छन् ? उत्तर फेला पार्न एक वर्ष पनि पर्खन परेन । आफ्नो दुई तिहाइको घरमा आगो लगाएर खरानी भाग लगाएका मदन पथका एमालेहरू अहिले परिवार दलको शरण छन् ? सम्भवतः यसको उत्तर यही होला ।
उपसंहार
निर्वाचनको आकाशमा सूर्यको तेज निकै फिक्का छ । होली वाइन र पश्चगमनको ग्रहण लागेकाले ओली पथको उद्धार यो चुनावले गर्ने छैन ।
भुसालकै शब्द यहाँ स्मरण गर्ने हो भने ओलीलाई एमालेलाई इतिहासको लयमा फर्काउनु नै छैन ।
छ त केबल जनताको जनबहुदलीय जनवाद र सूर्यको पटेन्ट जोगाइ राख्नु । सूर्यको ट्रेडमार्क जोगाइराख्न सकियो भने भीम रावलले भनेझैँ चुनावैपिच्छे यसलाई लिलाम गर्न पाइराखिने छ । र, त्यसबाट आर्जित मतले सत्तासँग बार्गेनिङ गरिराख्न पाइने छ । दुई तिहाइको उपलब्धीको शीरमा आफैँ आगो झोसेका ओलीले खरानीको ठूलो हिस्सा आफ्नो भागमा त पारेकै छन् ।
प्रतिक्रिया