काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको आज(आइतबार) १६ वर्ष पुरा भएको छ। आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर लोकतन्त्र दिवस मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए भने विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन सुरु गरिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन नसकेपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने परम्परामा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा केहि गति लिएपछि बैशाखमा जनता सडकमा उत्रिएका हुन् ।
जनता सडकमा उत्रिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भएका थिए। त्यसपछि राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। त्यसैले बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
प्रतिक्रिया