काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार दिउँसो ३ बजेलाई तय गरिएको थियो । तर, बैठक ५ बजेसम्म बस्न सकेको थिएन ।
त्यतिञ्जेल पार्टी अध्यक्ष केपी ओली सम्बन्धित प्रदेशको पार्टी इन्चार्ज, नेतृत्वसँग तलबाट सिफारिस भएर आएका नामबारे छलफल गरिरहेका थिए । सकस थियो, महानगर र उपमहानगरको उम्मेदवारी चयन ।
एमाले पछिल्लो समय निकै दबाबमा छ । एमालेले अघिल्लो निर्वाचनमा २७४ स्थानीय तहमा जित हात पारेको थियो । अहिले त्यो उपलब्धीलाई बढाउने भन्दा पनि त्यतिबेलाको मत जोगाउन एमालेलाई निकै चुनौतीपूर्ण छ । एक त एमाले आफैैँमा विभाजित छ । अर्को, उसविरुद्ध सत्तारूढ दल एकट्ठा भएको अवस्था छ । यस्तो अवस्थामा जित्ने उम्मेदवारको खोजी हुनु स्वाभाविकै हो ।
एमालेले काठमाडौँमा जित्ने उम्मेदवारकै खोजी गरेको उसको रोजाइबाट देखिन्छ । एमालेको बुझाइमा विद्यासुन्दरले कामै नगरेका होइनन् । तर, सिंहदरबारअघिल्तिरको बाटोमा खाल्डो पर्दा पनि काठमाडौँको मेयरले गाली खाने अवस्थाका कारण शाक्यले कामै गर्दैनन् भन्ने ‘न्यारेटिभ’ स्थापित भयो । त्यसले उनका भित्री सहरमा गरेका काम ओझेल पर्यो । त्यसकारण शाक्यलाई विस्थापित गरेर केशव स्थापित ल्याउनेमा केपी ओली ‘कन्भिन्स’ थिए । उपमेयरको उम्मेदवार को भन्नेचाहिँ एमालेमा त्यति बहस थिएन । विद्यासुन्दरकै वडाकी सुनीता डंगोल मेयर उठ्ने भनेर ‘आठ खम्बे’ योजना पस्किइरहेकी थिइन् । एमाले पारिवारिक पृष्ठभूमि भएकी डंगोल स्वतन्त्र उम्मेदवारी दिइरहँदा शाक्य र स्थापित दुवै दबाबमा थिए ।
मनपर्ने नेता ओली भनेकै भरमा उपप्रमुख
आफूलाई लागेको कुरालाई पार्टी निर्णयमा बदल्न ओली खप्पिस छन् । डंगोलको ‘लोकप्रियता’ चाल पाएका ओलीले तिनै डंगोललाई उपप्रमुखको रूपमा प्रस्तुत गरेको छ । स्रोतका अनुसार डंगोलले एक महिनाअघि एउटा अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा मन पर्ने नेता केपी ओली भनेकी थिइन् । उनले ओलीलाई ‘भिजिनरी’ नेताको संज्ञा पनि दिएकी थिइन् । यति नै उनको टिकट पाउने आधार भएको एमाले नेताको बुझाइ छ ।
डंगोल २०११ कि मिस नेवा हुन् भने उनी रञ्जना लिपिमा काम गरिरहेकी छन् । त्यसो त, उनी अरू भोलेन्टियर संघसंस्थामा पनि आबद्ध छिन् ।
भित्री सहरमा डंगोलहरूको ठूलो ‘क्लस्टर’ छ । त्यसको भोट आकर्षित गर्न पनि एमालेलृ चलाखी गरेको कतिपयको बुझाइ छ ।
महानगरमै रहेर काम गरिसकेकाले डंगोललाई जित्न सक्ने उम्मेदवारको रूपमा प्रस्तुत गरिएको एमाले नेता बताउँछन् ।
प्रतिक्रिया