Developed By Kuldeep Sharma

April 25, 2022

पोखरामा एमालेभित्र विवाद बढेपछि खोसियो पौडेलको टिकट, थापा मेयरका उम्मेदवार

काठमाडौ । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनाइएका दीपक पौडेलको टिकट खोसिएको छ। दीपक पौडेललाई उम्मेदवारकारूपमा अघि सारेपछि भाँडभैलो सिर्जना भएको हो। चौतर्फी विरोध भएपछि पौडेलको टिकट खोसेर कृष्ण थापालाई टिकट दिइएको छ।

पोखरामा लामो समयदेखि उपमहासचिव पृथ्वी सुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच अन्तसंघर्ष चलिरहेको थियो ।टिकट वितरणमा गुरूङ हाबी भएपछि अधिकारी पक्षधरहरू रुष्ट बन्न पुगेका हुन् । अधिकारीले प्रदेशसभा सदस्य कृष्ण थापालाई अघि सार्न खोजेका थिए । तर, गुरूङले गण्डकी जतिबेला पनि सरकार ढल्ने जोखिम रहेको र एमाले सत्तामा आउने सम्भावना रहेकाले प्रदेशसभा सदस्यलाई राजीनामा गराउने कुराको विरोध जनाएका थिए । ओलीले त्यसमा सदर गरिदिए । एक त पार्टीभित्रैको अन्तर्संघर्ष अर्कोतिर उम्मेदवार पनि विवादित बनेपछि एमाले दबाबमा छ ।

उम्मेदवारकारूपमा अघि सारिएका पौडेलले केही समयअघि पोखराको एउटा सुन पसलबाट सिक्री चोरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सुनको सिक्रीमासमेत र्‍याल चुहाउने नेतृत्व पोखरा महानगरपालिकालाई नचाहिएको भन्दै एमालेकै नेता कार्यकर्ता सामाजिक सञ्जालमा विरोधमा उत्रिएका छन् ।

राष्ट्रपतिको मितेनी साइनो
त्यसो त पोखरा महानगरपालिकाको टिकट वितरणमा ओली हाबी भएपछि राष्ट्रपति कार्यालयसमेतलाई चित्त बुझेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख मञ्जु गुरूङलाई अघि सार्नुपर्ने पक्षमा थिइन् । उनले अध्यक्ष ओलीलाई भनेकी पनि थिइन् । मञ्जु राष्ट्रपति भण्डारीको मितेनीसमेत भएको एमालेका नेताहरू बताउँछन् । तर, शिक्षक राजनीतिबाट उदाएका पौडेलले कुनै समय आफूलाई गुन लगाएकाले त्यही पैँचो तिर्ने मुडमा देखिए ओली । ओलीले पौडेललाई नै रुचि देखाएपछि पृथ्बी सुब्बा गुरूङलाई हाइसञ्चो भयो ।

टिकट वितरणपछि लामो सास फेरेका गुरूङ पोखरा पुग्दानपुग्दै विवादका कारण दबाबमा छन् । “उहाँ (पीएस गुरूङ)ले केही गर्नु भएको होइन । व्यक्तिकाबारेमा उहाँको आग्रह–पूर्वाग्रह केही छैन । टिकटको लबिइङ गर्नु भएको पनि होइन । किन उहाँलाई विवादमा तान्ने प्रयास भइरहेको हामीले बुझ्न सकेका छैनौँ,” पृथ्बी सुब्बा निकट एक नेताले भने, “सचिवालयले गरेको निर्णय नमान्ने हो भने कसले भनेको टेर्ने त ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma