Developed By Kuldeep Sharma

August 15, 2022

नागरिकता विधेयक सरकारले अध्ययन गरेर अघि बढाउँछौं : प्रवक्ता कार्की

काठमाडौं। सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई अध्ययन गरेर फेरि अघि बढाउने जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने जनाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धन दलहरूको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले विधेयक पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाएको कार्कीले बताए।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‌बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले आइतबार फिर्ता पठाएकी थिइन्।

सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका हुन्। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट पारित भएको थियो।

संघीय संसद्‌बाट पारित गरिएको विधेयकलाई प्रमाणीकरणका लागि साउन १५ गते शीतलनिवास पुगेको नागरिकतासम्बन्धी विधेयकलाई विचाराधीन अवस्थामा राखेकी राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी हुन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम फिर्ता गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma