Developed By Kuldeep Sharma

August 15, 2022

सिट बाँडफाँटको गाँठो फुक्ला त दुई दिनमा ?

काठमाडौं। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ। सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ। अहिलेसम्म सहमति भएको छैन।

अब अर्को बैठक बुधबार ४ बजे बस्छ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको कांग्रेस महामन्त्री गगन थापाले बताए। उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन।

बुधबार ठोस रुपमा छलफल हुन्छ होला।’ मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने कार्यदलका सदस्यको तयारी छ। थापाले भने, ‘पाँच दल एकै ठाउँमा बस्दा गाँठो फुकेन। भोलि हामी आ-आफू र अरु दलसँग बस्छौँ।’

मापदण्ड बनाउँदा २०७४ सालमा भएको निर्वाचन र गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतलाई आधार बनाइने नेताहरूले जनाएका छन्। तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नयाँ भएकाले विशिष्ट रूपमा राखेर मापदण्ड तय गरिने कार्कीले बताए।

‘माधव नेपालको एकीकृत समाजवादी पार्टीले ७४ सालको चुनाव लडेको छैन। यसलाई एउटा विशिष्ट रूपमा राखेर मापदण्‍ड तय गरी अगाडि बढ्छौं,’ उनले भने, ‘सिट बाँडफाँटको टुंगो अब हामीले चाँडो गर्नुपर्छ। हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले तालमेल गरेर चुनावमा जाने निर्णय गरिसकेका छन्। उक्त निर्णय पछि दलहरू गठबन्धनमा कसरी सिट बाँडफाँट गर्ने भन्ने बारेमा आन्तरिक तथा सामूहिक छलफलमा जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma