Developed By Kuldeep Sharma

February 18, 2023

धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्नुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गरिन् ।

उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताइन् । मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ ।

पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ । पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको राष्ट्रपति भण्डारीले प्रष्ट पारिन् ।

उनले प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइने विश्वास व्यक्त गरिन् । “पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौँ उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमति, रुद्रमती, इच्छुमतीलगायतका नदीलगायत मुलुकभरिका फैलिएका पानीका स्रोत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वातस लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma