काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्।
बिहीबार धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा आफूमाथि लागेको यौनदुर्व्यवहारको आरोपको प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।
काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा स्थापितमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्। त्यसपछि स्थापित बसेको ठाउँबाट जंगिदै उठेर चोर औंला देखाउँदै भने, ‘यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठिक भएन।’
स्थापित जंगिएपछि होहल्ला भएको थियो। अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाइन्।
समीक्षाले स्थापितलाई तपाईंले यस्तो व्यवहार गर्न मिल्दैन भनिनन्। चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।
फूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए।
विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटु’ भनेर चिनिएको थियो। उनै स्थापितलाई एमालेले महानगरको मेयरमा टिकट दिएको छ। त्यसै कारणले स्थापितको चर्को आलोचना भइरहेको छ।
प्रतिक्रिया