काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र/स्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन सरकारलाई अनुरोध गर्ने भएको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान र निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम गर्नुपर्ने भएकोले सरकारसँग मतदान केन्द्र तोकिएका विद्यालयलाई तीन दिन बिदा दिन अनुरोध गर्ने बताए।
कोही निर्विरोध भएको छैन
यस्तै आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ। कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने सहायक प्रवक्ता अर्यालले पत्रकार सम्मेलनमा भने।
विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ। वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
‘एकजना मात्रैको मनोनयन भएपनि सिधै हामीले निर्विरोध भन्न सक्दैनौँ’, उनले भने, ‘कानुनको कसीमा उहाँ एकजना भएपनि कानुनको द्वारबाट छिर्न सक्नुपर्छ। दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने चाहिँ निर्विरोध हुन सक्नुहुन्छ।’
७२ जिल्लाको मतपत्र छपाइ सकियो
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा अर्यालले सो जानकारी दिए। ‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने।
हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए। आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए।
प्रतिक्रिया