काठमाडौं। देशभरका निर्वाचन अधिकृतको कार्यालयले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेका छन्।
शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ।
यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ।
कसलाई के चिह्न?
काठमाडौं उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव चिह्न लौरो पाएका छन्।
अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले चुनाव चिह्न ‘लौरो’ पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन्।
त्यस्तै, पोखरा महानगर प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार विमलबहादुर कार्कीले चुनाव चिह्न लालटिन पाएका छन्।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई आयोगले चुनाव चिह्न ‘आँप’ दिएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा स्वतन्त्रबाट मेयर पलमा उम्मेदवार दिएका गायक टंक तिमिल्सेनाले आँपको दाना चुनाव चिह्न पाए।
तनहुँको व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन्। नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन्। तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ।
मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्टाघर’ चिन्ह पाएका छन्।
उपमेयरमा उठेका बसुन्धरा देवी झाले ‘जेब्रा’ र गंगादेवी सुवेदीले ’चापाकल’ चिन्ह पाएका छन्।
काभ्रेको बनेपा नगरपालिकामा मेयर बन्नका लागि अधिकृतको जागिर छाडेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका कन्चनराज गिरीले ‘पुतली’ चुनाव चिन्ह पाएका छन्।
प्रतिक्रिया