काठमाडौं। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ।
सत्तारुढ गठबन्धनमा सामेल समाजवादीले स्थानीय तहमा भने केन्द्रको निर्णय अस्विकार गर्दै एमालेसंग तालमेल गरेको हो।
पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो। यो गाउँपालिका एमाले पुर्व उपाध्यक्ष भीम रावलको निर्वाचन क्षेत्र हो।
एमालेसंग तालमेल गरेको एकीकृत समाजवादीले उपाध्यक्षको उम्मेदवार पाएको छ। एकीकृत समाजवादीकी समिता महर साउद साझा उम्मेदवार भएकी छन्। अध्यक्षमा भने एमालेका भीमबहादुर खड्का साझा उम्मेदवार बनेका छन्। ८ वटा वडा रहेको मेल्लेखमा एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा सहमति गरेका छन्।
यस्तै, अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भएको छ।
एमालेबाट साँफेबगर नगरपालिकामा पशुपति कुँवर मेयरको उम्मेदवार बन्दा माओवादीका रंगबहादुर ठकुल्ला उपमेयरका उम्मेदवार बनेका छन्। उपमेयरका उम्मेदवार ठकुल्ला सूर्य चिह्नबाट चुनाव लडेका छन् ।
केन्द्रमा सत्ता गठबन्धनमा माओवादी र समाजवदी छन्। केन्द्रमा गठबन्धनले एमालेसँग तालमेल नगर्ने निर्णय गरेको छ। तर, भीम रावलको निर्वाचन क्षेत्रमा भने माओवादी र समाजवादीले एमालेसँग तालमेल गरेका छन्।
प्रतिक्रिया