काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मानव अधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ। बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने जनाएको हो।
आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने जानकारी दिए। उनले आयोगका अध्यक्ष तथा सदस्यहरूको नेतृत्वमा सातवटै प्रदेशहरूमा निर्वाचन पूर्व पनि अनुगमन हुने उल्लेख गरे।
आयोगका सदस्य डा.सूर्य ढुंगेलको नेतृत्वमा मधेश प्रदेश, मिहिर ठाकुरको नेतृत्वमा गण्डकी प्रदेश, मनोज दुवाडीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश र लिली थापाको नेतृत्वमा प्रदेश नम्बर १ मा अनुगमन हुने उनले जानकारी दिए। निर्वाचन अवधिमा आयोगमा अनुगमन कन्ट्रोल रुम स्थापना गर्ने र द्रुततर सूचना संकलन केन्द्र तथा द्रुत अनुगमन टोलीको समेत व्यवस्था गरिने उनले बताए।
आयोगले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको सुरक्षा प्रवन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना लगायतको विषयमा अनुगमन गर्नेछ।
त्यसैगरी, निर्वाचन प्रचार प्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि, पर्यवेक्षण गर्ने संघ संस्थाहरुको कार्य, निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता लगायतका विविध विषयको अनुगमन हुने आयोगका अध्यक्ष मगरले बताए। आयोगले उम्मेदवारी मनोनयन दर्ताको दिन बैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको उनले जानकारी दिए।
प्रतिक्रिया