Developed By Kuldeep Sharma

May 5, 2022

चितवनको चुनावी सभामा कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुरका मेयर उम्मेदवार रेनु दाहाललाई जिताउन पार्टीपंक्तिलाई आग्रह गरेका छन्। बिहीबार भरतपुरमा आयोजित गठबन्धनकाले आयोजना गरेको सुनावी सभामामा देउवाले रेणुको प्रशंसा गर्दै जिताउन आग्रह गरे।

‘यस्तो काम गर्ने मान्छे मेयर नभएर को हुन्छ त? उहाँले जित्नहुन्छ, जितिसक्नुभएको छ,’ देउवाले भने, ‘यस्तो काम गर्ने मान्छेलाई मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्?’ रेणुजी बेरुजु नभएको नगरपालिकाको मेयर भएको देउवाको भनाइ छ।

ठाउँठाउँ पिच भएको, हरेक गल्लीमा पिच भएको र रेणुले स्मार्ट सिटी, क्रिकेट पिच र अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउने भनेको भन्दै देउवाले सोधे- ‘सानो कुरा हो?’ उनले चुनावका लागि गठबन्धन आवश्यक परेको पनि बताए। उनले राम्रो काम गर्ने रेनुलाई फेरि मेयर जितायो भने अर्कोपटक कांग्रेसले मेयर पाउने पनि बताएका थिए।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने। उनले प्रचण्ड सजिलो मानिस भएको पनि बताए। ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने। उनले रेणु दाहालले पाँच वर्ष मेयर भएर राम्रो काम गरेको बताए।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताएका छन्। जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने उनको भनाई थियो।

उनले भने,‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ। विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन। उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ। तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ। चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन्। जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ।’

उनले यति बेला दुनियाँभरका शक्तिले भरतपुरमा ध्यान दिएको बताउँदै प्रचण्डलाई ठेगान लगाउने यही बेला हो भनेर देशी विदेशी शक्ति लागेको बताए। आफूलाई ठेगान लगाए अहिले आएको परिवर्तन उल्टाउन सकिने उनीहरूको विश्वास रहेको र त्यसलाई सफल हुन नदिन आग्रह गरे।

उनले केपी ओलीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् नछोड्नुस, हाम्रो भोट पनि खनाइदिउँला भनेको उल्लेख गर्दै सो कुरामा भर नपर्न आग्रह गरे। उनले फेरि एमालेसँग गठबन्धन गर्नतिर लागेर फेरि अर्को गल्ती नगर्ने प्रतिबद्धता जनाए।

सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले गफमा मानिसलाई भुलाउन सक्ने भएकोले ख्याल गर्न समेत गराए। ‘केपी ओलीको मैले बखान गर्न जरूरी छैन। हजार जिब्रो भएका नाघले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन्। बयलगाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्।’ओली महागफाडी भएको पनि उनको आरोप छ।

‘गफमा उनले पिएचडी गरेका छन्। गफमा मानिसलाई भुलाउन सक्छन्,’ उनले भने, ‘झुठोलाई साँचो भनेर अलमल्याउन सक्छन् होस् गर्नुहोला।’ उनले रेणु दाहालले भरतपुरमा राम्रो काम गरेको पनि बताए। गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे। नेपालले एमालेप्रति लक्षित गर्दै कुहिएको फर्सी भएको बताएका थिए। ‘फर्सी कुहिइसकेको छ। नखानुहोला, नसुघ्नुहोला, रोग लाग्ला,’ उनले भने।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताए। उनले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताए। ‘कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’ उनले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताए।

ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताए। गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उनले बताएका थिए। गठबन्धनकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुगेको उनले बताए।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिए। श्रेष्ठले ओलीले विगतमा प्रतिनिधि सभा विघटन गरेको र पूरा नहुने योजना बाँडेको भन्दै आलोचना गरे। साथै उनले आइ लभ यु केपी बा भन्नेहरूले सोच्नुपर्ने बेला आएको बताए। ‘कतिपय मानिसहरू, कतिपय युवाहरू भ्रममा छन्। उनीहरू भन्छन्- आइ लभ यु केपी बा। तपाईंहरूलाई थाहा छ? सर्पले दूध खाए पनि विष लाग्छ, केपीले म्वाइँ खाए पनि विष लाग्छ,’ उनले भने।

ओलीले लोकतन्त्र, संघीयताविरोधी लहर फैलाएको आरोप पनि उनले लगाए। ‘ओलीले सगरमाथामा धान फलाउँछु भन्न बेर छैन,’ उनले भने। भरतपुरमा रेनु दाहाल मेयर भएपछि विकास भएको उनको दाबी थियो। स्थानीय चुनावमा जनताले एमालेलाई मत नदिने दाबी गरेका उनले सत्तागठबन्धनले दुई तिहाइ स्थानीय तह जित्नुपर्ने बताएका थिए। यस्तै उनले रेनुलाई बाघको संज्ञा दिएका थिए। बाघ निस्केपछि स्यालहरू भाग्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma