काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसक्ने नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा थापाले पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार नभएको बताएका हुन्।
‘कम्युनिष्टले जतमत पाएर पनि पाँच वर्ष सम्म सरकार चलाउन सकेन त्यसैले जनताले अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउने अवसर दिनुपर्छ’, थापाले भने, ‘ कम्युनिष्टले गरेका नराम्रा काम र पाँच वर्षमा गर्ने योजनासहित कांग्रेस चुनावमा होमिएको छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे। ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ। यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन। सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन।’
तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए। ‘संसद विघटन विशुद्ध पार्टी भित्रको कारण हो। प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ। हामीले जनतालाई बुझाउनैपर्छ। त्यो बेलाको सम्झना गराउनै पर्दछ।’
थापाले सिंहदरवार तल गयो तर केही गलत प्रवृति पनि सँगै गए। सिंहदरवार गाउँमा पुर्याउने कुरा जनप्रतिनिधिलाई अधिकार दिनु मात्रै हैन संस्थागत क्षमाताको विकास गराउनु पनि हो। त्यो काम कांग्रेसले जितेपछि गर्छ।’
गएको पाँच वर्ष जनप्रतिनिधिहरू र नागरिकबीचको दुरी बढेको महशुस भएको भन्दै थापाले अबको पाँच वर्ष जनप्रतिनिधि र नागरिकबीचको दुरी घटाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ भन्ने मान्यता कांग्रेसले बोकेको बताए। ‘गएको पाँच वर्ष स्थानीय तहहरूमा संघले दिने बजेट वितरण गर्न प्रतिस्पर्धा नै चलको देखियो। अब रोजगारी सृजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’ थापाले भने,’ कांग्रेसका उम्मेदवारले जिते असल शासन र जवाफदेहिता बहन गर्नुपर्छ भन्ने प्रण गर्नुपर्छ।’
प्रतिक्रिया