Developed By Kuldeep Sharma

May 6, 2022

‘महिला उम्मेदवारलाई हराउँदा राम्रो सन्देश जाँदैन’

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई हराउँदा सन्देश नराम्रो जाने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै देउवाले राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा भएको भन्दै महिलालाई हराए दुनियाँले के भन्छन् ? भनेर प्रश्न गरे।

प्रधानमन्त्रीसमेत रहेका देउवाले नेपाली कांग्रेसले काठमाडौं महानगरको प्रमुखका लागि उम्मेदवार बनाएकी नेतृ सिर्जन सिंह प्रकाशमानकी श्रीमती हुनु कुनै दोष नभएको बताए। ‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन्,’ देउवाले भने।

यस्तै देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए। ‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन। कहाँ जन्मिने कुरा हातमा हुँदैन। प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ।’

उनले पार्टीभित्रैबाट पाँच दलीय गठबन्धनको विरोध भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे। कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले कांग्रेसका कट्टर समर्थक बनेर गठबन्धनको विरोध गरिरहेका पनि बताए।

‘केन्द्रीय समितिमा गठबन्धनको खिलापमा कोही पनि बोलेन। गठबन्धन आवश्यक भन्यो। मलाई सम्पूर्ण अधिकार पनि दिएको छ,’ देउवाले भने, ‘तर अहिले हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा झिकेका छन्। हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु खिलापमा छन्।’ उनले काठमाडौं महानगरमा सिर्जना र भरतपुरमा रेनु लाई मतदान गरेर विजयी गराउन मतदातासँग आग्रह पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma