Developed By Kuldeep Sharma

May 8, 2022

६ जना स्वतन्त्र उम्मेदवारसहित ३९० जनप्रतिनिधि निर्विरोध निर्वाचित

काठमाडौं। स्थानीय तह निर्वाचनको मतदान हुनु अघि ६ जना स्वतन्त्र उम्मेदवारसहित तीन सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये तीन सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुनेमा एक सय ६४ जना दलित महिला सदस्य रहेका छन् भने एक सय एक जना वडा सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा तीन जना र उपाध्यक्षमा तीन जना निर्विरोध निर्वाचित भएका छन्।

एमालेबाट एक जना गाउँपालिका अध्यक्ष र दुई जना उपाध्यक्षसहित एक सय ३८ जना निर्विरोध निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित एक सय १५ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट ६० जना र नेकपा एकीकृत समाजवादीबाट दुई अध्यक्षसहित ३५ जना निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारबाट ६ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्यमा निर्विरोध भएका छन्।

आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकामा उम्मेदवारी दिएका ३५ जना नै निर्विरोध निर्वाचित भएका छन् भने उक्त गाउँपालिकाको दुई वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको थिएन। त्यस्तै डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष र चार जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि निर्विरोध भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma