Developed By Kuldeep Sharma

May 8, 2022

आचारसंहिता उल्लंघन गर्न शीर्ष नेताहरूकै तछाडमछाड

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै गत चैत २५ गते ६८ पृष्ठ लामो आचारसंहिता जारी गर्‍यो। आयोगले आचारसंहिता जारी गर्दै कडाइका साथ लागू गरिने प्रतिबद्धता पनि जनायो। निर्वाचनको मिति जतिजति नजिकिँदै गइरहेको छ त्यति नै धेरै दलका शीर्ष नेताहरूबाट निर्वाचन आचारसंहिताको उलंघन भइरहेको छ।

सत्ता गठबन्धनको भरतपुरमा आयोजित संयुक्त सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा रेणु दाहालले हारे देशमा अर्को द्वन्द्व सृजना हुने अभिव्यक्ति दिए। गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने भन्दै प्रचण्डले चितवनका जनताले राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गरे भने देश दुर्घटनामा जान सक्ने बताए। चितवनको सभामा सत्ता गठबन्धनका अन्य नेताले पनि धम्कीपूर्ण भाषामा गठबन्धनको मर्मविपरित मतदान गरे राम्रो नहुने संकेत गरेका थिए। जुन अभिव्यक्ति आयोगको आचारसंहिता विपरित मानिन्छ।

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले डडेल्धुरा पुगेर कांग्रेसका मेयर नभएको ठाउँमा बजेट नै नपठाउने बताइन्। राणाले डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले गलत काम गरेको बताए। उनले भने, ‘यसपटक निर्वाचन आयोगले बेठिक काम गरेको छ। चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ। हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो। पहिलो लहरमा सूर्य हुन्छ, नझुक्किनु होला।’ एमालेले सत्ता गठबन्धनलाई राज्यशक्ति दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ४० वटा उजुरी परेका छन्। जसमध्ये १६ वटा लिखित रुपमा उजुरी प्राप्त भएका छन्। ४० वटा उजुरीमा सम्बन्धीत व्यक्ति र पार्टीलाई स्पष्टीकरणको पत्र पठाइसकेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आयोगले आचारसंहिता उलंघन गर्ने ३७ जनालाई वैशाख महिनाभरिमा स्पष्टीकरण सोधिसकेको छ। आयोगले जरिवाना गराउने तथा संहितामा कडाइ गर्नेभन्दा पनि स्पष्टीकरण सोध्ने, लिखित जवाफ बुझ्ने अनि सचेत गराउने गरिरहेको छ। आयोगले उल्लंघनकर्तालाई प्रत्यक्ष प्रभाव पर्नेगरी कारबाही अघि नबढाउँदा आचारसंहिता ‘कागजी कानुन’मात्र बन्न पुगेको छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिताको उलंघन व्यापक बढेको बताए। ‘आचारसंहिता उल्लंघन गर्ने शैली र माध्यमहरू फरक भएका छन्, उल्लंघन व्यापक नै भइरहेको छ’, यादवले भने। उनले स्वच्छ, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको पालना गर्नै पर्ने बताए।

‘जसरी पनि जित्ने उद्देश्य भएकाले आचारस‌ंहिताको उल्लंघन हुने गरेको छ,’ यादवले भने,’आचारसं‌हिता पालना गर्न दलहरू र पालना गराउन आयोग गम्भीर हुनै पर्छ।’ स्वतन्त्र निर्वाचन लोकतन्त्रको मुख्य आधार हो। यो कुरालाई बिर्सेर दलहरूले निर्वाचन आचारसंहिता विपरित कार्यहरू गर्दा त्यसले समग्र राज्य व्यवस्थालाई नै असर गर्छ। यसैले दलहरूले आफूले आफैंलाई अनुशासनमा राख्नुपर्छ। अर्कोतिर आचारसंहितालाई कानुनको रुपमा नबुझी जे गरे पनि भइहाल्छ भन्ने सोचाइले उल्लंघन गर्ने काम भइरहेको छ।

उलंघनका घटनामा कमि आएको छ : भण्डारी

निर्वाचन आयोगले भने आचारसंहिता उलंघनका घटनामा कमि आएको दाबी गरेको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतका चुनावहरू भन्दा यसपटक आचारसंहिता उलंघन कम भएको दाबी गरे। ‘पहिले जस्तो उलंघन छैन।

मिडियादेखि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा नेताहरूलाई सचेत गराउने र स्पष्टीकरण सोध्ने काम भएको छ’, उनले भने, ‘पछिल्ला केही नेताहरूका अभिव्यक्ति तथा घटनाहरू आयोगले नियालिरहेको छ, चाँडै नै हामी एक्सनमा जाँदैछौं।’

एमालेबाट काठमाडौं महानगरका मेयर केशव स्थापितले सार्वजनिक कार्यक्रममा प्रश्न सोध्ने एक युवतीलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भन्दा आयोगले स्पष्टीकरण सोधेको स्मरण गर्दै भण्डारीले आचारसंहिता पालना गराउन तथा उलंघन गरे आवश्यक कारबाही गर्न लागिपरेको बताए। उनले कांग्रेस नेतृ आरजुले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे आयोगले छानबिन थालेको पनि बताए।

आयोगका सहप्रवक्ता अर्यालले उजुरी परेको आधारमा आगोगले काम गरिरहेको बताए। गम्भीर खालको उजुरी नपरेको भन्दै उनले केन्द्रदेखि पालिका तहसम्म अनुगमन संयन्त्र बनाएर अनुगमनको काम भइरहेको बताए।

आचारसंहिताका मुख्य बुँदाहरू

  • निर्वाचन आचारसंहिताले बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ।
  • निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई निषेधित गरिएको छ।
  • मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा लगाएको छ।
  • शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानुनले दिँदैन।
  • राष्ट्रिय सम्पत्तिको प्रयोग र सरकारको तर्फबाट चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाइने बताइएको छ।
  • ध्वनी प्रदूषण हुने गरी आमसभा गर्ने, माइकिङ गर्ने कामलाई निषेध गरिएको छ।
  • स्वीकृत नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma