काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने बताएका छन्।
पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाउँदै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको बताए हुन्।
उनले भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ। ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ। म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन ? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए।
देउवाले गठबन्धनले सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई नै पुग्ने पनि बताए। देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार कांग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। गठबन्धनको उम्मेदवारले जित्दा कांग्रेसको र देशको जित हुने उनले दाबी गरे।
प्रतिक्रिया