काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटा आरोप लगाएको जनाएको छ।
आज सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले नेतृत्वको सरकारले कमिसनका लागि धेरै ऋण लिएको आरोप लगाए। ‘ओलीले कमिसन खानकै लागि अनावश्यक रुपमा बैदेशिक ऋण लिनुभयो,’ महतले भने,‘उहाँकै पालामा देश भ्रष्टाचारमय भएको छ। कोभिड व्यवस्थापनमा पनि चरम भ्रष्टाचार भएको छ।’
महतले ओलीको पालामा काण्डै काण्डमात्र भएको दाबी गरे। महतले आक्रोशित हुँदै भने, ‘ओलीजीका काण्ड सुनाएर साध्य छैनन्। नेकपामा तत्कालीन नेताहरूले नै उहाँका काण्डहरू लिखितरुपमा दर्ता गरेका हुन्। उहाँले गफमात्र गर्नुभयो। काम कांग्रेसले गरेको छ। कोभिड र भूकम्पमा जनतालाई जोगाउने कांग्रेस हो। ओली जति गफमा प्रतिस्पर्धा गर्न हामी सक्दैनौं।’
महतले ओली सरकारमा भइरहेको भए नेपाल अहिले श्रीलंका भइसक्ने थियो भन्दै एमालेले मुलुकलाई ऋणमात्र बोकाएको आरोप लगाए। उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी गरे। महतले संविधान निर्माणमा ओलीको कुनै भूमिका नरहेको भन्दै ओली संविधान र अग्रगमनको विरोधमा रहेको आरोप लगाए। ओलीले कमल थापा र राजेन्द्र लिङ्देनहरुसँग मिलेर दक्षिणपन्थी बाटो लिएको आरोपसमेत लगाए।
ओलीका कारणले अन्तरराष्ट्रिय सबन्धन निकै विग्रिएको भन्दै महतले कांग्रेस सरकारमा आउँदा अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्ने काम भएको उनले दाबी गरे। जनमतको अपमान गर्ने पार्टी एमालेलाई फेरि मत माग्ने आधार नभएको उनले बताए।
‘हामीलाई नीति नभएको पार्टी रे। कांग्रेसकै नीतिको ब्याज र साँवासमेत खाने पार्टी एमाले हो,’ उनले भने, ‘ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ। झुटमाथि झुट।’ उनले एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नरहेको पनि दाबी गरेका छन्।
कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जताततै निजी उद्योग फस्टाएको उनको दाबी छ। एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नै नभएको महतले बताए।
एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी कांग्रेस उल्टो बाटो हिँडेको आरोप लगाएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मतदातालाई अपिल गर्न भन्दै पत्रकार सम्मेलन गरी दिएका अभिव्यक्तिमाथि नेपाली कांग्रेसले आपत्ति जनाउँदै खण्डन गरेको छ।
प्रतिक्रिया