पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी भएको दाबी गरेका छन्।
सोमबार नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे। ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो। मैले शास्त्रका कुरा गर्छु, उनीहरू उखान टुक्का भन्छन्।’
उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरूले प्रयोग गर्ने उनको भनाइ थियो। ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरे। ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए।
एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए। उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे।
‘केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन्। सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ। सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ। कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन।’
प्रतिक्रिया