काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनाव प्रचार प्रसारको आज अन्तिम दिन हो। उम्मेदवार तथा राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार आज नै टुंग्याउँदै छन्। यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू चुनावी अभियानको दौडधुपमा छन्।
प्रमुख दलका शीर्ष नेताहरू आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्ने प्रयासमा लागेका छन्। त्यसक्रममा शीर्ष नेताहरू आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिँदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन्।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। हिँजो नै डडेल्धुरा पुगेका देउवा मत हालेर मात्रै राजधानी फर्किने कार्यक्रम छ। देउवा मंगलबार दिनभर आफ्नो गृहजिल्लामा डडेलधुरामा आयोजना गरिएका चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त हुँदैछन्। देउवाले औपचारिक रुपमा जिल्लामा दुईवटा सभालाई सम्बोधन गर्ने उनको नीजि सचिवालयले जनाएको छ। देउवाले त्यसबाहेक अन्य स्थानमा हुने सभालाई समेत सम्बोधन गर्नेछन्।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन्। ओलीले काठमाडौ र झापामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन्। सोमबार साँझ झापा पुगेका ओली आफ्नो चुनावी क्षेत्रका विभिन्न पालिकामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। उनका अनुसार झापाको कार्यक्रम सकेर ओली दिउँसो चार बजेभित्र काठमाडौ आइपुग्नेछन्। काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का ५ वटा जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्। प्रचण्डले रौतहटको पिपरा विश्रामपुर, सर्लाहीको चक्रघट्टी, महोत्तरीको बर्दिवास, धनुषाको शहिदनगर र बाराको सिमरामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन्। सिमराको सभालाई सम्बोधन गरेर प्रचण्ड मंगलबार नै काठमाडौ आउनेछन्। उनी बुधबार चितवन जाने र मतदानपछि काठमाडौ फर्कने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन्। रौतहट नेपालको गृह जिल्ला पनि हो। नेपालले रौतहटसहित सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन्।
नेपालको सचिवालयका अनुसार मंगलबार बिहान रौतहटका विभिन्न स्थानमा भएका चुनावी सभा र भेटघाटपछि नेता नेपाल सर्लाहीका केही स्थानमा हुने सभालाई सम्बोधन गरेर राजधानी फर्कनेछन्। राजधानी फर्केपछि नेपालले काठमाडौं महानगरपालिका-९ र ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैछन्।
यस्तै जनता समाजवादी पार्टी जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका जिल्ला तहका कार्यक्रममा सहभागी हुने भएका छन्। जसपा प्रभाव क्षेत्र मधेस प्रदेश नै बढी भएकाले मौन अवधिको अघिल्लो दिन उनी मधेस प्रदेशका जिल्लामै केन्द्रीत हुने भएका हुन्।
यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। अब उनी झापाबाट भोट हालेर मात्रै काठमाडौं फर्किने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। लिङ्देन अहिले चन्द्रगढीको कार्यक्रममा छन्। उनी हल्दीवारी गाउँपालिकाका ५ वटा सभा, बारदही र कचनकलवको कार्यक्रमा सहभागी हुने कार्यक्रम छ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार आज मंगलबार राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले मत माग्न पाउने छैनन्।
प्रतिक्रिया