Developed By Kuldeep Sharma

May 11, 2022

लुम्बिनीमा चार उम्मेदवारको मृत्यु, तीन जना बने मृतक परिवारबाटै उम्मेदवार

काठमाडौं। लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनका उम्मेदवारको मृत्यु भएपछि उनिहरुकै परिवारका सदस्यबाट उम्मेदवारी दर्ता गरिएको छ। मृत्यु भएका चार जना उम्मेदवार मध्य तीन जना उम्मेदवारको परिवारका सदस्यबाटै उम्मेदवारी दर्ता गरिएको हो भने एक जनाको उम्मेदवारी परिवार भन्दा बाहिरबाट दर्ता भएको छ।

कपिलवस्तु जिल्लामा दुई जना, रुपन्देहीमा एक जना र  दाङमा एक जना गरी चार जना उम्मेदवारको मृत्यु भएको हो। नेपाली कांग्रेसबाट कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपप्रमुख पदको उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको हो। हृदयघातका कारण कुर्मीको मृत्युपछि उनकै २८ वर्षीय जेठी बुहारी रिताकुमारी कुर्मी अहिले नेपाली कांग्रेस उपप्रमुख पदकी उम्मेदवार हुन्।

कपिलवस्तु जिल्लाकै बुद्धभुमी नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार ओम प्रकाश तिवारीको पनि मृत्यु भएको छ। तिवारीको मृत्युपछि उनकै श्रीमती सावित्री तिवारीलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाईको हो। दिउसो प्रचारप्रसारमा हिडेका तिवारीको राती मुटुमा समस्या देखिएपछि उपचारका लागि भारतको लखनऊ लगिएको थियो।

त्यस्तै दाङ जिल्लामा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका–१७ को अध्यक्ष पदको उम्मेदवार लबरु चौधरीको कलेजो, मिर्गौला रोगका कारण मृत्यु भएको छ। सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि उनका छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाइएको हो।

त्यसैगरी रुपन्देहीको मर्चवारी गाउँपालिका ३ मा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको पनि निधन भएको छ। उनको मृत्युपछि एमालेले मन भावती पासिनलाई उम्मेदवार बनाएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले मुलुकप्रेसलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma