पोखरा। स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन्। जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका हुन्।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छिन् । एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याइरहेकी छिन्।
महानगरको वडा नं १ मा एमाले विजय भएको छ। वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उमेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उमेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याएकी छन्।
वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उमेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे।
प्रतिक्रिया