काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. ट्रेडोसले स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा रहेका विषयमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महानिर्देशक र क्षेत्रीय निर्देशकको औपचारिक नेपाल भ्रमण सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै तीन दिने भ्रमणमा भएका उपलब्धिबारे जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आएका महानिर्देशक डा. ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले प्रधानमन्त्री सेर बहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् । उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, हनुमानढोका तथा पाटन दरबार र पाटन माध्यामिक विद्यालयको भ्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्यमन्त्री खतिवडाले बाल तथा स्त्री रोग ओन्कोलोनीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोग तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनको यस क्षेत्रकै केन्द्रका रुपमा विकास गर्न, अत्यावयक औषधि उत्पादन र शल्यचिकित्सा सम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न विश्व स्वास्थ्य संगठनबाट मद्धतको लागि अनुरोध गरेका थिए।
स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा आएका डा. ट्रेडोस भोलि(शनिबार) बिहान फर्कने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया