काठमाडौं। लेखक आकाश बराल आफ्नो पहिलो कृति स्पर्शबाट साहित्य जगतमा परिचित छन्। २०५१ सालमा माता तारादेवी अर्यालको एउटै सन्तानका रुपमा उनको जन्म भएको हो। नवलपरासीमा जन्मिएका आकाशको बाल्यकालको केही समय पाल्पा र नवलपरासीमा वित्यो।
२०७६ सालमा निकै चर्चा कमाउन सफल कृति स्पर्शका लेखक आकाशसँगको साहित्यिक भलाकुसारी।
तपाइँको बाल्यकालको एउटा मिठो किस्सा के छ ? जो अझै पनि याद आइरहन्छ ?
–एउटै किस्सा भन्न गाह्रो हुने रहेछ। किनकी धेरै छन् मिठा किस्सा। तर हामी साहित्य लेखनकै सन्दर्भमा रहेर कुरा गरिरहेकोले। यसैसँग सान्दर्भिक एउटा किस्सा छ। मैले मासिक बालपत्रिका मुना र सुनकेस्रा हरेक महिना पढ्थे। अनि त्यसमा छापिएका कथा, कविता देख्दा आफ्ना कविताहरू पनि छापियोस् भन्ने लाग्थ्यो।
आफ्नो नाम कविताको मुनि देख्न मन लाग्थ्यो। एकदुई चोटी हुलाकबाट कविताहरू पठाएको पनि थिँए। ती कविता पुग्ने ठाउँमा पुगे या पुगेनन् तर कविता छापिएन्। अनि आफ्नो कविता छापिएको हेर्न आतुर मैले दुई कागजको बीचमा कार्बन पेपर राखेर कविता लेखेको थिँए र तल्लो कागजमा छापिएका निला अक्षरहरू देख्दा पनि उत्साहित भएको थिँए।
पछि फोटोकपी मेसिन आइसकेपछि मैले कविता लेख्दै फोटोकपी गरेर राख्थेँ। त्यो बेला पनि आफूले लेखेका अक्षरहरू छापिएको हेर्ने हुटहुटी त्यस्तो थियो। अहिले सम्झँदा रमाइलो लाग्छ।
हुलाकबाट पठाएको कविता नछापिदा खिन्न भएको मनलाई स्पर्शले दिएको माया देखेर कस्तो लाग्यो ? लेख्दै गर्दा लागेको थियो पाठकको यति धेरै माया पाउछु भनेर ?
–कुनैबेला आफूले लेखेका कथाहरू प्रकाशित भएको हेर्नु नै संसार जित्नु हो सोँच्ने म। पाठकहरूबाट पाएको मायाले एकदमै खुसी त पक्कै थिँए र छु। साथमा यो माया मेरो लेखनयात्राको लागि प्रेरणा पनि भएको छ। लेख्दै गर्दा पाठकहरूको प्रतिक्रिया यस्तो आउला या कस्तो आउला भन्ने कौतुहलता थिएन।
किनकी एउटा पुरै उपन्यास लेख्नु र यसलाई प्रकाशित गर्नु बाहेक मेरो मनमा अरु कुराहरू खेलेको हुन्थेनन्। हो अब प्रकाशित हुन्छ है, भनिसकेपछि भने धेरै कौतुहलता थियो। पहिलो प्रयासमै यति धेरै माया पाउँछु भन्ने चाहिँ सोँचेको थिइन।
स्पर्श लेख्ने प्रेरणा कसरी मिल्यो ? कही कतै तपाइँको आफ्नै अनुभव हो कि ?
–उपन्यास लेखन एकदम लामो प्रक्रिया रहेछ। त्यसैले प्रेरणाको श्रोत पनि त्यो प्रक्रियामा परिवर्तन हुँदै जाने रहेछ। कहिले के कुराले प्रेरित गर्छ कहिले अर्कै कुराले। मुख्य कुरा चाहिँ मलाई आफू हुर्कँदाखेरीको जेनेरसन र हाम्रो कथा पढ्न नपाएको कुराले पनि स्पर्श लेख्न प्रेरित गरेको हो जस्तो लाग्छ।
जहाँसम्म आफ्नो अनुभवको कुरा छ। मेरो अनुभव हुँदै होइन भनेर नकार्न पनि सक्दिन र हो भनेर स्वीकार्न पनि सक्दिन। किनकी कथा कल्पना गरेरै लेखेको हुँ। तर यसका पात्र र ती पात्रका विचारहरूमा मेरो अनुभव जोडिएको भने पक्कै छ।
आफुले जन्माएको कृति र पात्र सबै प्रिय नै हुन्छन् तरपनि तपाइँका लागि सबैभन्दा प्रिय पात्र को हो ?
–आफ्नो कल्पनाबाट जन्मेका पात्रहरूमध्ये प्रिय को होला भन्ने काम गाह्रो नै हो। तर स्पर्शको सन्दर्भमा भने लेख्ने क्रममा नै अक्षता भन्ने पात्र निकै निकटको लागेको थियो र अझै पनि लाग्छ। मेरो कल्पना, भोगाइ र भावना सायद यसै पात्रबाट सबैभन्दा बढी प्रस्फुटित भएका छन् जस्तो लाग्छ।
यहीँ कारणले होला धेरै पाठकको निकट र प्यारो पात्र पनि अक्षता नै भनेर भन्नुहुन्छ।
तपाइँको अर्को कृतिका लागि अब पाठकले कति समय पर्खनु पर्ला ?
–एउटा अल्छी लेखकलाई यो जति गाह्रो प्रश्न सायदै छैन। दोस्रो कृति लेख्ने कोसिस गरेकै यति धेरै समय भइसक्यो कि यो प्रश्न सुन्दा संकोच लाग्छ ‘लेख्न सकुँला त दोस्रो कृति’रु तर मेरो कोसिस यही वर्षको अन्त्यतिर ल्याउने रहनेछ। त्यति समयको लागि पाठकले पक्कै धैर्यता राख्नु हुनेछ।
लेख्न सक्नुहुन्छ भन्ने कुराको प्रमाण त स्पर्श छदै छ। सायद पहिलो कृति मन पराएका पाठकले दोस्रो कृतिमा जुन अपेक्षा राखेको हुन्छ त्यो पुरा गर्न नसकिएला भन्ने डर रहन्छ ?
–डर त रहन्छ नै। सायद त्यही डरले नै समय लिइरहेको पनि छ। समय लागोस तर असल लेखनी प्रकाशित गर्न सकियोस्।
अपेक्षा पुरा गर्न सकिएलारनसकिएला लेख्नु त पर्छ नै। त्यो डरलाई प्रेरणाकै रुपमा पनि लिन सकिन्छ।
लेखक आकाशको नजरबाट हेर्दा साहित्य के रहेछ ?
–म सधै भन्छु ‘साहित्यको परिधि जीवन जत्तिकै विशाल छ र म त्यो परिधिमा परिसकेको छैन।’ साहित्यलाई परिभाषित गर्ने कोसिस गरेँ भने म अल्पज्ञानी हुन्छु जस्तो लाग्छ। तर पनि यदि सामान्य कथा भन्नु पनि साहित्य हो भने म पनि कुनै दिन साहित्यकै परिधि वरपर हुनेछु।
लेख्न खोज्नेहरुका लागि तपाइँको सुझाव के छ ?
–लेख्न खोज्नु या लेख्न मन लाग्नु नै लेख्नुको सुरुवात हो।
लेख्ने काम हतारमा हुँदैन। साथमा यसको लागि जतिसक्दो किताब पढ्नु पर्छ। त्यसैले मेरो एउटै सुझाव भनेको संसार भरिका किताबहरू खोजीखोजी पढ्नुहोस्। लेख्ने प्रेरणा ती किताबहरूले नै दिनेछन्।
–मुलुकप्रेसका लागि समय दिनुभएकोमा धन्यवाद, दोस्रो कृतिका लागि शुभकामना। लेखन यात्रा शुभ रहोस्।
– लेखनका बारेमा भलाकुसारी भयो आभारी छु म पनि, मुलुकप्रेसलाई धन्यवाद।
प्रतिक्रिया