Developed By Kuldeep Sharma

August 3, 2022

सप्तकोशी गाउँ पस्यो, स्थानीयले गाउँ छाडे

काठमाडौं। उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन्। सप्तकोशी नदी बस्तीमा पसेपछि स्थानीयले सुरक्षित स्थानको खोजीमा गाउँ छाडेका हुन्।

आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन्। स्थानीयले बस्तुभाउ, लत्ताकपडा बोकेर गाउँ छोडेका छन्। उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ। त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन्।

प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ। वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ।

विपद् व्यवस्थापन केन्द्रले भनेको छ, ‘ विगत तीन हप्ताको अथक प्रयास बावजुद आज बिहान ४ बजेबाट कोशी नदीको एउटा सानो भंगालो वेलका नगरपालिकाको डुम्रीबोटबाट पश्चिम कटान गर्दै सिसौली टप्पु -चिलिया बस्ती तर्फ पस्न शुरु गरेको छ।’

कोसी पसेपछि त्यो क्षेत्र अहिले जलमग्न भएको छ। सप्तकोसीको मुल प्रवाह नै बाँधतिर ठोक्किएर बग्दा मंगलबार दिनभरी बाँध कटान गरेको थियो । नगरपालिकाको पहलमा बाँधमा रोकथाम गर्ने प्रयास गरिए पनि सफल नभएको र बिहान करिब पौने ४ बजेतिर नदी बस्तीतर्फ प्रवेश गरेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।

कोसीको बाढी वडा नं. ८ हुँदै ३, ९ र २ नम्बर वडाका बस्तीहरू डुबाउने जोखिम रहेको मेयर कार्कीले बताए । राति कोसी फुटेपछि स्थानीयले घर छाड्न थालेका छन् । कोसीमा पानीको सतह नघटे बेलकाको वडा नं. ८ डुम्रीबोटस्थित कोसीको बाँध भत्किने भन्दै गाउँलेहरूले मंगलबार दिनभर घरका अन्नपात सुरक्षित ठाउँमा सारेका थिए।

नेपाल प्रहरीको टोली कटान भइरहेको स्थान नजिकै रातभरी टेन्ट लगाएर निगरानीमा बसेको थियो। नगरपालिकाले अहिले बढी जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि ट्याक्टरको व्यवस्था गरिरहेको मेयर कार्कीले बताए । कोसीको पश्चिमी बाँध फुटेपछि वडा नम्बर ८ को सिसौली, वडा नं. ९ को धौरी, ३ को दुर्गामन्दीर, भाटेपुल, एविसी टप्पु, गुणीटोल, जगना र वडा नं. २ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा नं. १ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ।

वडा नं. ३ दुर्गामन्दिरका गणेश पौडेलले कोसी फुटेर बस्तीतर्फ पसेको जानकारी दिए । ‘हामी धेरै जोखिममा छौं, मंगलबार दिनभरी कटान रोक्नका लागि बाँधमा माटो हाल्ने काम भएको थियो, तर त्यसले कटान रोकिएन, तल्लो तटीय क्षेत्रमा धेरै धनजनको क्षति हुनसक्छ’ उनले भने।

कोसी फुटेपछि वडा नम्बर ३ को एविसी टप्पुका करिब एकसय घर प्रत्यक्ष जोखिममा परेको जनाइएको छ। कोसी फुटेर आएको पानी एबिसी टप्पुको दुवैतिरबाट बग्ने र कटान हुने जोखिम रहेको पौडेलले जानकारी दिए।

अहिले कोसी फुटेको स्थानबाटै २०४५ सालसम्म कोसी नदी नै बगेको स्थानीयले बताएका छन् । पछि कोसी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो।

तर अहिले पुनः कोसी पश्चिमतर्फ नै फर्किएका कारण बेलकामा मात्रै १० हजार घरधुरी डुबानको जोखिममा रहेको मेयर कार्कीले बताए। राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले एक हजार घर जोखिममा रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma