काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ललितपुरमा पाँच दलीय गठबन्धन छाडेको छ। उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आफूहरूलाई न्यूनीकरण गरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए।
यही सन्दर्भमा ललितपुरमा गठबन्धनका घटकमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरूसँग तालमेलको पहल नगरी अहंकार र अलोकतान्त्रिक तरिकाले एकलौटी निर्णय गरेको दाबी जसपाले गरेको छ।
जसपाका जिल्ला अध्यक्ष जीवन लामा ‘जिमी’ आइतबार विज्ञप्ति प्रकाशित गरी ठूला दुई दल केन्द्रीय गठबन्धनको समेत मर्म, भावनाविपरीत गएकाले पाँच दलबाट बाहिरिने निर्णय भएको बताएका छन्।
‘अब यो जिल्लाको गठबन्धनभित्र जसपा (ललितपुर निर्वाचन क्षेत्र नं १ समन्वय समिति गोदावरी नगरपालिका, बागमती, महाकाल, कोन्ज्योसोम गाउँपालिका) बसिरहनुको औचित्य समाप्त भएकाले आजको मितिबाट बाहिरिने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ललितपुरका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको यस रवैयाप्रति आपत्ति छ। स्थानीय तह निर्वाचन परिणामको जवाफदेही तिनै दलहरू हुनेछन्। यस आसन्न निर्वाचनमा जसपा ललितपुर निर्वाचन क्षेत्र नं १ एकल, स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुनेछ।’
शनिबार मात्रै नेता भट्टराईले ठूला दलले आफूहरूलाई पेलेको भन्दै त्यो प्रवृत्ति आपत्तिजनक रहेको बताएका थिए।
प्रतिक्रिया