काठमाडौं। चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरेका छन्।
बिहीबार बिहान चितवनको भरतपुरस्थित होटल सिरागचुलीमा बागी उम्मेदवार पौडेलले प्रस्तावक, समर्थकसहित वरिष्ठ नेता पौडेलसँग भेट गरेका हुन्।
तर, पौडेलले प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भेटेनन्। वरिष्ठ नेतालाई भेटेलगत्तै बागी उम्मेदवार पौडेल चुनाव अभियानमा जानुपर्ने भन्दै देउवालाई नभेटि निस्किएका थिए ।
सो क्रममा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरे। तर, उनले आफ्नो उम्मेदवार फिर्ता नहुने अडान कायमै राखे।
पौडेलसंगको छलफलमा जगन्नाथले भने, ‘तपाईंहरु रेणुलाई सहयोग गर्नुहोस्। जिताउनुहोस्। अब म पछि हट्न मिल्दैन भनेर मैले उहाँलाई भने।’ उनले मुलुकप्रेससंग भने, ‘उहाँसंगको छलफलपछि आजको कार्यतलिकाअनुसार हामी कार्यक्रमका लागि निस्कियौ। देउवा जी सङ्ग भेट भएन।’
भरतपुर महानगरमा गठबन्धनले माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। उपमेयर कांग्रेसले पाएको छ। बागी उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाडलगायतका कांग्रेस नेताहरु चितवनमै पुगे पनि सफल हुन सकेका छैनन्।
प्रतिक्रिया