काठमाडौं। पाँच दलिय सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा गर्दैछ।
सभा बिहान ११ बजे अमरसिंह चौरमा हुने छ। सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्नेछन्। सत्ता गठबन्धनले पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई उम्मेदवार बनाएको छ। एमालेले भने कृष्ण थापालाई उम्मेदवार बनाएको छ।
यस्तै गठबन्धनले आजै दाङका दुई ठाउँमा पनि चुनावी सभा गर्दैछ। सभालाई देउवा, प्रचण्ड लगायत गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। तुलसीपुरको अरणी मौदान र घोराहीको जिल्ला समन्वय समिति मैदानमा चुनावी सभा हुनेछ।
तुलसीपुरको अरणी मैदानमा मध्यान्ह १२ बजेपछि कार्यक्रम गरिसकेपछि नेताहरू घोराहीको सभामा जानेछन्। सत्तागठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन्। घोराही उपमहानगरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन्।
प्रतिक्रिया