पोखरा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन्।
अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे। नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी मतगणनासम्म लैजान पार्टीका कार्यकर्ताहरुलाई निर्देशन पनि दिए।
ओलीले मतगणना सुरक्षाप्रति आशङ्का व्यक्त मात्रै गरेनन्, गठबन्धनका दलले मतपत्र च्यात्न सक्ने बताए । त्यसकारण उनले मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिए।
उनले भने ‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन । यसकारण तपाईंहरु मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म सुत्न हुन्न।’ उनले मतपत्रको सुरक्षा जनताले नै गर्ने बताए।
एमाले सरकारमा रहँदा मुलुकमा विकासको लहर सुरु हुने र शासन व्यवस्थामा पनि सुधार आउने उनको दाबी थियो। उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका भन्दै आसन्न निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे।
प्रतिक्रिया