काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तिम चुनावी सभामा बोल्दै ओलीले विभिन्न ढंगले सामाजिक सञ्जालमा हमला गर्ने, गलत क्रियाकलाप देखिन थालेका भन्दै स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा स्थानीय निर्वाचन हुनुपर्ने बताएका हुन्। उनल भने, ‘नेकपा एमाले कही पनि धाँधली गर्दैन, कहीँ गुण्डागर्दी गर्दैन । लोकतन्त्रका लागि निर्वाचनलाई स्वच्छ र निष्पक्ष गरौँ।’
एमाले नेतृत्वको सरकारले गरेका विभिन्न कामको चर्चा गर्दै ओलीले देशभर एमालेको पक्षमा लहर चलेको उल्लेख गरे। अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने विषयमा सबैको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरे।
शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नका लागि पार्टीका स्वयम्सेवक र संगठित नेता, कार्यकर्ता व्यवस्थित ढंगले परिचालन हुनुपर्नेमा उनले जोड दिए । यसअघिको निर्वाचनमा भरतपुर र ललितपुर महानगरको मतपरिणाम स्मरण गर्दै ओलीले मतपत्रको निगरानी गर्नुपर्नेमा जोड दिए।
निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका ओलीले कांग्रेस र गठबन्धनलाई फाइदा हुने गरी गतिविधि नगर्ने चेतावनी दिए।
ओलीले सत्ताधारी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनमा झट्का खाने दाबी गरे।
प्रतिक्रिया