चितवन। भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि महानगरपालिकामा मतगणनास्थलमा फलामको तारजाली लगाइएको जनाएको छ। २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक भने सुरक्षित मतगणनाको तयारी गरिएको हो।
मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आयोगको निर्देशनपछि मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने, बत्ती जडान गर्नेलगायत काम भएका हुन्।
आयोगले यसपटक मतपत्रको सुरक्षामा विशेष ध्यान दिएको छ। भरतपुरमा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन्। मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको छ। गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ।
मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ। मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ। मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए। दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया