काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छन्।
साथै उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गरेकी छन्। आज शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपति भण्डारीले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताइन्।
जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भनेकी छन्।
उनले निर्वाचन समाज र राष्ट्रको विकासका मुद्दालाई जनताको घरदैलोमा पुर्याउने विशेष अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताएकी छन्।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले यही स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए।
‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन म सबैमा आग्रह गर्दछ’, प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन्।
प्रतिक्रिया