काठमाडौं। मत संकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेपछि जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो। आयोगले मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर स्पष्टीकरण सोधेको हो।
‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो? मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो? भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो?, आयोगले भट्टराईलाई सोधेको छ।
भट्टराईले शुक्रवार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मत संकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए। निर्वाचन आचारसंहिता अनुसार मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।
प्रतिक्रिया