Developed By Kuldeep Sharma

May 13, 2022

निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई प्रधानमन्त्री देउवाले दिए धन्यवाद

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएको बताएका छन्।

आज शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान भएको थियो। मतदान सकिएलगत्तै प्रधानमन्त्री देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वभौम नेपाली नागरिकले देखाउनु भएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरेका छन्।

दशकौंको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्न यस निर्वाचनले सहयोग पुर्याएको प्रधानमन्त्रीको विश्वास छ।

प्रधानमन्त्रीले भनेका छन्, ‘संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समुन्नतिको प्रत्याभूति एवम् मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यो राष्ट्रिय महायज्ञमा सम्पूर्ण आमाबुवा, नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो अमूल्य मत दिनुभएको छ।’

प्रधानमन्त्री देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छ।’

‘मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma