Developed By Kuldeep Sharma

May 17, 2022

रुकुमपूर्व माओवादीको ‘कब्जामा’, सबै स्थानीय तहमा निर्वाचित

काठमाडौं। रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ। सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको छ।

माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ। उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ।

पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा भारी मतान्तरले विजयी भइसकेका छन्।

चौध वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएकवटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ।

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ। यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित भए। नौवटा वडा रहेको यस पालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ। वडा सदस्य सबै माओवादीले जितेको छ। वडा नं ४ मा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन्। अन्य सबै वडामा माओवादीको प्यानल नै विजयी भएका छन्।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मी निर्वाचित भए भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित भए।

आठवटा वडा रहेको यस गाउँपालिकामा माओवादीले चारवटा वडा जितेको छ भने एमालेले तीनवटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma