बुटवल । पाँच दलिय सत्ता गठबन्धनले बुटवल उपमहानगरपालिकाको संकल्प पत्र सार्वजनिक गरेको छ। लोकतान्त्रिक गठबन्धनको नामबाट सार्वजनिक संकल्प पत्रमा सार्वजनिक सेवा प्रवाहलाई ‘पेपरलेस’ बनाउने र फास्ट ट्र्याक प्रणाली अवलम्बन गर्दै होम डेलिभरीको व्यवस्था गर्ने उल्लेख छ।
व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने र पालिकाले लिंदै आएको घरबहाल कर, ई-रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवं सिफारिस शुल्क घटाइने लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता छ। पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गर्ने र नेपालीपन झल्किने तथा उच्च कलात्मक ज्ञान र शैलीमा निर्मित निजी आवास तथा भवनहरुलाई कर छुट सुविधा प्रदान गर्ने पनि संकल्प पत्रमा उल्लेख छ।
सडक छेउमा वृक्षरोपण गरी हरियाली बनाउने र पैदल यात्रुहरुको सुविधाका लागि छहारीसहित कुर्सीहरुको व्यवस्था गर्ने पनि संकल्प उनीहरुले गरेका छन्। नगर प्रहरीलाई अंग्रेजी भाषा सिकाउने र नगर प्रहरी भित्र एन्टी ह्यारेसमेन्ट स्क्वायड गठन गर्ने पनि उल्लेख छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । उनीहरूले खेलराज पाण्डेयलाई मेयर र चिनबहादुर गुरुङलाई उपमेयरको रुपमा प्रतिस्पर्धामा उतारेका छन्।
प्रतिक्रिया