भुपाल थापा, कपिलबस्तु। आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलबस्तुका ७ जना पत्रकारहरु चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
पत्रकार रमेश मिश्र, राजु खराल, शिव बन्जाडे, चन्द्रकान्त न्यौपाने (शर्मा), मनोज कुमार ओझा, हिमलाल वाग्ले र केयरसिँह अदै स्थानीय तहको निर्वाचनमा जीतको दाबेदारीका साथ चुनावमा होमिएका छन् । चुनावमा होमिएका ५ जना वडाध्यक्ष र दुइजना नगर प्रमुख पदमा उम्मेद्वारी दिएका हुन् ।
पत्रकार मिश्र मधेसी पत्रकार समाज कपिलबस्तुका अध्यक्ष हुन् । मिश्र सदरमुकाम तौलिहवा स्थित रेडियो परिवर्तन, साझा न्युज साप्ताहिक र सगरमाथा टेलिभिजनसंग आवद्ध छन् । मिश्रले यशोधरा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदको लागी जनता समाजवादी पार्टी नेपालबाट उम्मेद्वारी दर्ता गराएका छन् । जनतामा सुशासनको प्रत्याभूति दिलाइ जीवनस्तर उकास्नका लागी आफ्नो उम्मेद्वारी रहेको मिश्रको तर्क छ ।
यस्तै सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)का लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल र रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने (शर्मा)ले पनि उम्मेद्वारी दर्ता गरेका छन् । पत्रकार खराल कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका लागी उम्मेद्वारी दिएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, विकास निर्माण, सिचाई लगायत भौगोलिक विकटताले पछि परेको वडा नम्बर ३ को समग्र समुन्नत विकासका लागी आफुले उम्मेद्धवारी दिएको उनको भनाइ छ । खराल चन्द्रौटास्थित रेडियो समानतामा आवद्ध छन् ।
यसैगरि सोही वडामा अर्का पाका पत्रकार केयर सिँह अदैले समेत वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् । जनमोर्चा निकट पत्रकार अदै आसन्न निर्वाचनमा जनता समाजवादी पार्टीसँगको तालमेलमा छाता चुनाव चिन्ह लिएर निर्वाचन जित्ने ढुक्कताका साथ मैदानमा होमिएका छन् ।
यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा पत्रकार शिव बन्जाडेले उम्मेद्वारी दिएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकार बन्जाडे जिल्लाका बिभिन्न संघसंस्थामा रहि समाजसेवामा कटिबद्ध छन् ।
यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा पत्रकार चन्द्रकान्त न्यौपानेले उम्मेद्वारी दर्ता गरेका छन् । जीतपुर स्थित रेडियो मायादेवीका स्टेशन म्यानेजर समेत रहेका न्यौपाने एक महिना अघिदेखि नै स्वतन्त्रतर्फबाट उम्मेद्वारी घोषणा गरि निर्वाचनमा होमिएका थिए ।
आफुलाई स्वतन्त्र उम्मेद्वार घोषणा गरेतापनि अन्ततः नेकपा (एकीकृत समाजवादी)बाट वडाध्यक्षमा चारदलीय गठबन्धन मार्फत निर्वाचनमा उभिएका छन् । बाणगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चारदलीय गठबन्धनको सहमती बनेको छ । न्यौपानेले वडालाई शुसासनयुक्त, भ्रष्टाचारमुक्त र विकसित बनाउन अनि जनतालाई सम्मानित बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् ।
यसैगरि जनमत पार्टीको तर्फबाट जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर पदमा पत्रकार मनोज कुमार ओझाको उम्मेद्वारी परेको छ । लामो समयदेखि कृष्णनगरमा पत्रकारिता मार्फत जनचेतना अभिबृद्धि संगै समाजसेवा गरिरहेका ओझा डाक्टर सिके राउतको पार्टी जनमत पार्टीका जिल्ला अध्यक्ष समेत हुन् । उनी कृष्णनगर स्थित खोजन्यूज टुडेका प्रकाशक समेत रहेका छन् ।
यस्तै जिल्लाको बाणगंगा नगरपालिकाको मेयर पदका उम्मेद्वारका रुपमा जनमोर्चाका हिमलाल वाग्ले रहेका छन् । हाँक पत्रिका संग लामो सम्बन्ध रहेका पत्रकार वाग्ले कपिलबस्तुका पाका पत्रकार मध्येका एक हुन् ।
महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत नेपाल पत्रकार महासङ्घले निर्वाचन आचारसंहितामा मार्फत आह्वान गरिसकेको छ ।
प्रेस काउन्सिल नेपालले जारी गरेको बिज्ञप्तीमा सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने समेत भनिएको छ ।
चुनावमा उम्मेदवार बनेका पत्रकारहरुले साधारण सदस्यबाट राजीनामा दिएको जानकारी आफुलाई नभएको पत्रकार महासंघ कपिलबस्तुका सभापति किरणमान बज्राचार्य बताउँछन् । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सभापति बज्राचार्यले आह्वान समेत गरेका छन् ।
महासंघका जिल्ला सचिव जानु पाण्डेले उम्मेद्वारी दिएका पत्रकारहरुले सदस्यता त्याग नगरेको स्वीर्काछन् । महासंघको सदस्यता त्यागेर मात्रै निर्वाचनमा होमिनुपर्ने आचारसंहितालाई पत्रकारले अटेरी गरेको प्रति शाखाको आपत्ति रहेको सचिव पाण्डेको भनाई छ । राजीनामा पेश नगरि निर्वाचनमा होमिएका सबै पत्रकारलाई महासंघको बैठक बसी सदस्यता खारेज गरि निष्काशित गरिने समेत उनले बताएका छन् ।
प्रतिक्रिया