Developed By Kuldeep Sharma

September 29, 2022

लुम्बिनीमा थन्किएका विद्युतीय गाडी आजदेखि सञ्चालनमा

काठमाडौँ। लुम्बिनीको खुला आकाशमुनि लामो समयदेखि थन्किएर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा आएका छन्।
लुम्बिनीमा आउने पर्यटकहरूलाई सेवा दिने उद्देश्यले एसियाली विकास बैंकले तीन वर्षअगाडि पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय कार लुम्बिनी विकास कोषलाई अनुदानमा उपलब्ध गराएको थियो। तर सञ्चालन सम्बन्धी कार्यविधि नबन्दा त्यसै थन्किएका थिए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि बनाएर मन्त्रालयमा पेस गरे पनि कानुन अभावमा कार्यान्वयन हुन नपाएकाले अहिले दसैंतिहारलाई मात्रै लक्षित गरी सेवा दिन लागिएको जानकारी दिए।

कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कार्यविधि बनाएर कोषका अध्यक्षलाई पेस गरिसकेको थियो। तर नम्बर प्लेट, रूट इजाजत, बिमा लगायत प्रक्रियामा ढिलाइ हुँदा समयमा सञ्चालन गर्न सकिएको थिएन।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले कोष मातहतका ५ वटा बसमध्ये हाललाई चार वटा सञ्चालन गर्ने निर्णय गरेको हो।

बिहीबार बिहान ती बसहरू विकास कोषको बसपार्क परिसरबाट सुरू हुने छन्। बसले यात्रुबाट कुनै शुल्क नलिने गरी तयारी भएको भट्टराईले जानकारी दिए।

कोषका अनुसार एउटा बस नेपाल प्रहरीले, एउटा शसस्त्र प्रहरीले, एउटा नेपाली सेनाले र एउटा कोष आफैंले सञ्चालन गर्नेछन्।

विभिन्न ६ वटा रूटमा चल्ने ती बसमध्ये एउटा कपिलवस्तुको तिलौराकोट, लुम्बिनी हुँदै भैरहवा, एउटा रामग्रामबाट भैरहवा र दुइटा भैरहवा-बुटवल रूटमा सञ्चालन हुनेछन्। सबै रूट व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परीक्षण इकाई पनि गठन गरेको छ।

लुम्बिनी आउने पर्यटकको सुविधा वृद्धिमा ध्यान दिँदै विद्युतीय बस र कार ल्याइए पनि कार्यविधि अभावमा खुला चौरमै थन्किएका थिए। एसियाली विकास बैंकको अनुदानमा चार्जिङ स्टेसन समेत तयार भइसकेको छ।

गाडी सञ्चालनका लागि होटल एसोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र कोषका तर्फबाट एक/एक जनाले चालकको जिम्मेवारी लिएका छन्। कम्तीमा १५ दिनसम्म यो सेवा सञ्चालन गर्ने र परीक्षणकाल सकेर औपचारिक रूपमा बस सञ्चालन गरिने कोषले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma