काठमाडौं। स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकामा चिन्ता जाहेर गरेको छ । आयोगले यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरूपमा प्रभाव पार्ने ‘कू’ सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न÷नगराउन आग्रह गरेको छ ।
आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण व्यवस्थित गरी यसको सही प्रयोग भए÷नभएको अनुगमनका लागि सुरक्षा निकायमा कार्यरत साइबर विज्ञसहितको कार्यदलसमेत गठन गरेको छ ।
निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले त्यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न÷नगराउन सबैमा आयोगले कडा चेतावनी दिएपछि दुरुपयोगको खतरा कम हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि सामाजिक सञ्जालका तत्तत् कम्पनीका कार्यालयहरू सम्पर्क गर्ने प्रयास गरिएको छ ।
भारतको नयाँ दिल्ली, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र जनवादी गणतन्त्र चीनको बेइजिङलाई अनुरोध गर्ने र उक्त मुलुकस्थित नेपाली दूतावासहरूले आवश्यक सम्पर्क र सहकार्य स्थापना गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिइएको छ ।
निर्वाचन आचारसंहिता, २०७८ मा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरूका बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावासमार्फत जानकारी गराइएको छ ।
प्रतिक्रिया