Developed By Kuldeep Sharma

February 27, 2023

बसन्तपुरमा ‘चीर’ठड्याइयो, आजबाट होली सुरु

काठमाडौं।काठमाडौंमा सोमबारदेखि फागु सुरु भएको छ। सोमबार बिहान ७ बजेर ४५ मिनेटको शुभसाइत हनुमानढोकामा चिर ठड्याई फागु सुरुवात गरिएको हो।

हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ। हनुमानढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइन्छ।

ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा भक्तजन भीड लागेको थियो। भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होली सुरुआत भएको छ।

काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ। चाँगुनारायणमा भने लिच्छविकालदेखि नै होलीका दिन त्यहाँ रहेको राधाकृष्ण र रुक्मिणीको खट जात्रा निकालेर अबिर छर्दै चोक चोक घुमाइन्छ। चीर ठड्याउनुको पनि विशेष महत्त्व रहेको संस्कृतविद् बताउँछन्। तीनतले चीरमा झुन्ड्याइने रंगीविरंगी कपडा श्रीकृष्णले लुकाइदिएको गोपिनीहरूको सारी मानिन्छ।

गोपिनीहरू नदीमा निर्वस्त्र नुहाइरहेको समयमा कृष्णले सबैको कपडा एउटा रूखको हाँगामा लुकाइदिन्छन्। र, आफू सोही रूखमा चढेर बाँसुरी बजाउन थाल्छन्।

गोपिनीहरूले अब उप्रान्त निर्वस्त्र नुहाउन नपाइने सर्तमा ती सबै कपडा फिर्ता पाएका थिए। यसैको खुसियालीमा सांकेतिक चीर ठड्याइने गरिएको जोशी बताउँछन्। चीरमा झुन्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउने समेत उनी बताउँछन्।

रंगीचंगी झल्लर कपडाका टुक्रा भुन्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिन्छ।

काठमाडौंका धालासिक्वाका मानन्धरहरूले चीर ठड्याउँछन्। सोही समयमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्रा झुन्ड्याएर मयलको रूख गाडेर पूजा गरिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma