Developed By Kuldeep Sharma

October 4, 2023

छिन्नमस्तामा मुकुट परिवर्तनः गाउँपालिकाले माग्यो समितिसँग लिखित जवाफ र कागजात

काठमाडौं । सप्तरिस्थित छिन्नमस्ता भगवतीको मुकुट परिवर्तन गरिएपछि स्थानीय सरकारले छिन्नमस्ता भगवती संरक्षण सम्बर्धन समितिलाई लिखित जवाफ माग गरिएको छ ।

गाउँपालिकाले मंगलबार (हिजो) समितिको नाममा पत्र लेख्दै भवगतीको मुकुट परिवर्तन गरिएको बारेमा लिखित जवाफसहित प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भनिएको छ ।

‘यहि असोज ४ गते छिन्नमस्ता भगवतीको व्यक्तिको नामसहितको मुकुट परिवर्तन गरिएको थियो । त्यसपछि २४ घण्टा नबित्दै अर्को मुकुट फेरियो । यसरी करोडौँ भक्तजनको आस्थाको केन्द्र रहेको मन्दिरमा भएको यस कार्यले गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ ।

पालिका अध्यक्ष विद्यानन्द चौधरीले यस प्रकारको कार्यले छिन्नमस्ता भगवती मन्दिरप्रति आस्था राख्ने भक्तजनहरुमाथि आघात पुगेको भन्दै समितिले के कारण, कुन ऐन, कार्यविधि र विधानले व्यक्तिको नामसहित मुकुट परिवर्तन गरिएको बारेमा लिखित जवाफसहित ७ दिनभित्र बिभिन्न कागजात उपलब्ध गराउन भनेका छन् ।

छिन्नमस्ता भगवती मन्दिर सप्तरीको सदरमुकाम राजविराजबाट १० किलोमिटर दक्षिण सीमावर्ती क्षेत्र सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिन्छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको हुँदा नेपाल र भारतका भक्तजनहरुमा ठुलो आस्था रहेको छ । मन्दिरमा दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन पनि त्यहाँ पुग्छन् ।

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे । यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए ।

त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो ।

मुकुट विवाद के हो ?

असोज ४ गते भगवतीको नयाँ मुकुट दिँदा दाताले त्यसमा आफ्नो नाम उल्लेख गरे । मुकुटमा कृष्णमुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेलको नाम उल्लेख थियो ।

दाताको रूपमा नाम उल्लेखित मुकुटको बारेमा चौतर्फी विरोध भयो । यो कुरा विवादित भएपछि मन्दिर समितिले फेरी पुरानै मुकुट राख्यो । त्यो वेला निकै विवाद बढेपछि मन्दिरका पिठाधीश महाकान्त ठाकुरले त्यसलाई हटाएर पुनः पुरानै मुकुट राखिने तयारी भइरहेको जानकारी दिएका थिए । त्यति बेला उनले मुकुटमा नाम उल्लेख छ भनी आफुलाई यादै नभएको पनि बताएका थिए । त्यसको भोली पल्ट मुकुट परिवर्तन गरिएको थियो ।

कृष्णमुरारी प्याकुरेलका पूर्वज ब्रजनाथ उपाध्यायले नै सुरुमा मुकुट दिएका थिए । मन्दिर निर्माणमा पनि उनीहरूको सहयोग छ । पुरानो मुकुट एककिलो ५० ग्राम तौल थियो भने नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको थियो ।

यसरी नेपाल र भारतका करोडौँ भक्तजनको आस्था रहेको मन्दिरमा भगवतिको मुकुट जथाभावी राख्ने र हटाउने कार्य भएपछि गाउँपालिकाले त्यसको खोजी गरेको हो ।

समितिसँग के के माग्यो पालिकाले ?

– मन्दिरमा हाल कार्यान्वयनमा रहेको विधान तथा अरु थप कुनै कार्यविधि, विनियमको प्रतिलिपि ।

– बिगत तिन बर्षको लेखापरिक्षण प्रतिवेदन र आर्थिक बर्ष २०८०।०८१ मा संचालन रहेको योजनाको विवरण ।

– मन्दिरको सम्पूर्ण चल अचल, नगदी जिन्सी, कर्मचारीको विवरण, नियुक्तिको प्रक्रिया र कर्मचारीले पाउने तलव सुविधाको विवरण र भुक्तानी हुने माध्याम र प्रमाणित हुने कागजात ।

– मन्दिर समितिको विवरण तथा पुजारीको विवरण सेवा सुविधा तलब भत्ता, भुक्तानी हुने माध्याम र प्रमाणित हुने कागजात ।

– मन्दिरको आन्तरिक आयहरु के के हुन्, सो के कुन कानुनि प्रक्रिया पुरा गरी कार्यन्वयन गरेको हो ? सो को विवरण ।

– मन्दिरले भाडा लगाएको सटरको संख्या र भागा लगाए बाफतको रकमसहितको विवरण ।

– दशैँ मेला व्यवस्थापनको के कति तयारि भएको हो र यस कार्यमा गाउँपालिकाबाट के सहयोग गर्न सकिन्छ ।

– मन्दिरको गुरु योजना भए त्यसको कागजातहरु ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma