सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गरे। केपी शर्मा ओलीको दम्भका कारण पटक-पटक संसद विघटन गरिएको जिकिर गर्दै आफूहरुले वृहत छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरेको खड्काको भनाई छ।
ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यस विरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा संगठित भएर संघर्षमा होमिएको उनको भनाइ छ। ‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौं,’ उनले भने, ‘यो गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि बनेको होइन।’
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको बताएका छन्। वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ। यो पालिकामा काँग्रेसले मेयरमा उपेन्द्र खड्कालाई र उपमेयरमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएका छन्।
प्रतिक्रिया