नवलपरासी । बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ।
मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए। शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो।
उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहनुभएको छ। मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पङ्गेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको शर्माले जानकारी दिए।
निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाइ छ। विगतमा भएका निर्वाचनमा समेत नमूना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए। गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारीमात्रै खटाइएको थियो। नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र छन्।
प्रतिक्रिया